तपाईँ सुन्दै हुनुहुन्छः

सेती जलविद्युत् आयोजना निर्माणका लागि ३ अर्ब ५० करोड ऋण लगानी हुने

रुपन्देही । पांँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सेती नदी जलविद्युत् आयोजना निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

शनिबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले यस्तो जानकारी दिनुभएको हो । २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि एनएमवि बैंकको अगुवाईमा एनएमवि बैंकले २ अर्ब २० करोड, कर्मचारी संचय कोषमार्फत ८० करोड र कृषि विकास बैंकमार्फत ५० करोड गरी ३ अर्ब ५० करोड ऋण लगानी हुने अध्यक्ष पोखरेलले बताउनुभयो ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माणाधीन आयोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको हो । त्यसका लागि सम्झौता समेत भइसकेको छ ।

आयोजनाका लागि बैंकहरुको तर्फबाट कुल लागत ५ अर्बको ७० प्रतिशतले हुने रकम ३ अर्ब ५० करोड ऋण लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, रुपन्देही र माछापुच्छ्रेका स्थानीय शेयरधनी भई प्रबद्र्धकहरुको तर्फबाट ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रकम लगानी हुनेछ ।

आयोजनाले विद्युत् उत्पादनपछि आइपिओमार्फत स्थानीय र सर्वसाधारणको लागि शेयर जारी गर्नेछ । हाल आयोजना अन्तर्गत सिभिलतर्फको १० प्रतिशत काम सकिएको अध्यक्ष पोखरेलको भनाइ छ । आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ ।

सेती नदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सव स्टेसनसम्म १३२ केभिएको ४ किलोमिटर ट्रान्मिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button