तपाईँ सुन्दै हुनुहुन्छः

तलव भत्ताको माग गर्दै जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा

जनकपुरधाम । जानकी मेडिकल कलेजका कर्मचारीहरु विगत देखिको बाँकी रहेका तलव भत्ताको माग गर्दै आज देखि दुई जना कर्मचारी आमरण अनसनमा वसेका छन् ।

एक महिना बढी धर्नामा बस्दा पनि माग पुरा नगरेपछि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका कर्मचारी आमरण अनशनमा बसेका छन् ।

करिब ८ महिना देखि बाँकी रहेको पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको रकम तथा हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना बसेका कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्यहरु जानकी शरण यादव र कुल्दिप साह आज विहान ११ बजेदेखि आशनमा बसेको जनाएका छन् ।

यस अघि असोज १२ गतेदेखि कलेज परिसरमै दर्जनौ कर्मचारीले धर्ना दिदैं आएका थिए । गत भदौ ३० महिनामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र पारिश्रमिक लगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको भएपनि कार्यान्वयन नभएपछि बाँध्य भएर आमरण अनसन बसेको जनाएका छन् ।

सहमतिपछि कर्मचारीहरुले भदौ २६ गतेदेखि लगाएको ताला खोलेका थिए । तर, कलेज व्यवस्थापकले सहमति अनुसार वक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि आन्दोलतरत कर्मचारीहरूले उमेश यादवको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण समिति गठन गरेर असोज १२ गतेदेखि माग पूरा गराउन दबाब दिन सामान्य रुपमा धर्ना वस्दै आएका थिए ।

पीडित ४० जना जति कर्मचारी नियमित कलेजको प्रशासनिक कार्य अबरुद्ध गरी धर्नामा बस्दै आएको भएपनि कलेजले वेवास्ता गर्दै आएको छ । कलेज व्यवस्थापकले माग पूरा गर्नुको साटो आन्दोलनरत कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि कर्मचारीहरु आक्रोशित छन् ।

दसैं अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल सहितकालाई निलम्बन पत्र थमाएपछि कर्मचारीको सुरक्षा तथा तलव भत्ताका लागि बाँध्य भएर आमरण अनसन वस्नु परेको संघर्ष समितिले जनाएको छ । विगत देखि नै जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल विवादमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button