तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरले आयुर्वेदिकतर्फ आकर्षण बढ्यो

सुर्खेत । कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधि तर्फ नागरिकको आकर्षण बढेको छ ।

शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न आयुर्वेदिक जडीबुटी खुवाउने गरिएको हो ।

चिकित्सकहरुको सल्लाह अनुसार यस क्षेत्रका नागरिकले सङ्क्रमणबाट जोगिन धेरैले आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिन र रोग लागेपनि सस्तोमा उपचार हुने भएकाले यसतर्फ सेवाग्राहीको आकर्षण बढेको प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतले जनाएको छ ।

जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोगतर्फ आकर्षण बढेको प्रदेश आयुर्वेदिक औषधालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष विनोद ढकालले बताउनुभयो ।

औषधालयमा अहिले एक सय जनासम्मले दैनिक आयुर्वेदिक औषधि लिने गरेको औषधालयको तथाङकमा उल्लेख छ ।

पछल्लो समय कोरोना भाइरस सङक्रमण भएपछि रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको समेत प्रयोग बढ्न थालेको छ ।

औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले भाइरस सङ्क्रमणबाट रोक्न प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले गुर्जोको माग बढेको बताउनुभयो ।

औषधालयमा हालसम्म करिब तीन हजारले गुर्जो प्रयोग गरेको तथ्यांक छ । उहाँले औधालयमै आएर गुर्जोको लहरा लिएर झोल बनाएर खाने गरेको बताउनुभयो ।

उहाँका अनुसार हिमाली जडीबुटी, गुर्जो, तुल्सीलगायत जडीबुटीबाट बनेको अमृतचिसा पनि लाभकारी हुने गरेको छ । कर्णालीमा पर्याप्त जडिबुटीको भण्डारण रहेपनि संकलन तथा प्रशोधन अभावमा अहिले प्रदेशबाट बाहिरिने गरेको उहाँको भनाइ छ ।

सेवाग्राहीको चाप बढ्यो
पछिल्लो समय औषधालयबाट गुणस्तरीय सेवा दिइएपछि सेवाग्राहीको चाप बढ्न थालेको छ । तर भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको अभाव हुदाँ माग अनुरुपको सेवा पुर्याउन निकै कठिन भएको औषधालयले जनाएको छ ।

औषधालयले ओपीडी, पञ्चकर्मा, क्षारसुत्र, शंख प्रक्षालय, फिजियोथेरापीलगायतका सेवाहरु दिइरहेको छ ।

कर्णालीको जडिबुटी प्रशोधन गरी औषधि उत्पादन गर्न औषधालयको स्तरोन्नती गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन आवश्यक रहेको प्रमुख डाक्टार रिजाल बताउनुहुन्छ ।

‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग थप जनशक्ति र स्रोतसाधनको माग गरिए पनि सुनुवाई भएको छैन,’ उहाँले भन्नुभयो, ‘कोरोना भाइरस सङ्क्रमितलाई आफुहरुले आयुर्वेदक औषधिहरु वितरण गर्दै आइरहेको भएपनि अन्य अस्पताललाई सरकारले लाखांै रकम दिएपनि आयुर्वेदिक औषधालयलाई कुनै सहयोग आएन ।’

उहाँले जनशक्ति र स्रोतसाधन अभावले स्थानीयस्तरमा उपलब्ध जडीबुटीको संकलन, प्रशोधन गर्न समेत नसकिएको बताउनुभयो । उहाँका अनुसार आयुर्वेद औषधि भरपर्दो र स्थानीयको रोजाइमा परेपनि सरकारले उचित नीति तथा कार्यक्रम ल्याउन नसक्दा समस्या भएको हो ।

भिडियो एक्सरे र ल्याव सेवा सञ्चालनमा
औषधालयमा भिडियो एक्सरे र ल्याव सेवा सञ्चालनमा आएको छ । यसअघि कर्णाली प्रदेशकै एक मात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

‘१८ लाखको लागतमा एक्सरे मेशिन स्थापना गरिएपछि सेवाग्राहीलाई सेवा दिन सहज भएको औषधालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताउनुभयो ।

‘औषधालयले अत्याधुनिक डिजिटल ल्याब जडान गरी अन्य सरकारी अस्पताल भन्दापनि सस्तो मुल्यामा भिडियो एक्सरेलगायतका सेवा दिइरहेका छौ’ उहाँले भन्नुभयो ,

उहाँले अन्य अस्पताल तथा निजी मेडिकलभन्दा छिटो छरितो र सहज रुपमा गुणस्तरीय सेवाहरु प्रदान गरिएको दावी गर्नुभयो । पहिले नाम मात्रको आयुर्वेदिक औषधालय भएपनि आफु आएपछि धेरै सेवाहरु सुचारु गरिएको उहाँको भनाइ छ ।

कोभिड–१९, का कारण आयुर्वेदिक औषधितर्फ आकर्षण बढेको भन्दै सरकारले अब आयुर्वेदिक चिकित्सालाई प्रथामिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । औषधालयले गरिब, असाहय, अपाङगता भएका अल्पसंख्यकहरुबाट कुनैपनि शुल्क नलिएर सबै प्रकारका सेवाहरु दिइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button