तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ९५ लाख लगानीमा नमुना फुटसल निर्माण

जुम्ला । कर्णालीकै दोस्रो तथा ठुलो फुटसल जुम्लामा निर्माण गरिएको छ । तीन जना व्यक्तिको नीजि लगानीमा कर्णालीकै ठुलो फुटसल निर्माण गरिएको हो ।

चन्दननाथ नगरपालिका–५ स्थित कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसलको आज औपचारिक उद्घाट गरिएको छ ।

अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितीमा फुटसल उद्घाटन गरिएको हो ।

चन्दननाथ नगरपालिका–५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको सञ्चालक प्रकाश शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई वर्ष पहिलको पूर्व तयारी अनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालनका लागि निर्माण गरेका छौ ।”

११ महिनाको अवधिमा ९५ लाख लागतमा सबै सामाग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई स्पोर्ट हब बनाउनको लागि फुटसल निर्माण गरिएको शाहीको भनाई छ ।

प्रतिघण्टा १५ सयका दरले खेल सञ्चालन गरिने छ । तत्तकालका लागि व्यवसायीक रुपमा सञ्चालन नभएपनि ढिलो चाँडो खेल क्षेत्र सबैका लागि अपरिहार्य नै छ । जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको सञ्चालक निर्पराज भारतीले उल्लेख गर्नुभयो । पानी, शौचालय, क्यान्टीन, वाचमेन रुम सहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ ।

एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नीजि लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा इट्टा थपेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पूर्वाधार अभावमा खेल क्षेत्र ओझेलमा परेको छ । तीन तहको सरकार हुँदाहँुदै पनि जुम्लाका तीन जना समाज सेवीले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रर्वद्धनका लागि निर्माण गरेको योगदान प्रशंसयीन छ ।”

एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले जुम्लामा कृषि, पर्यटनसँगै खेल क्षेत्रको लागि पनि प्रयाप्त सम्भावना भएको ठाउँ भएकाले नीजि तथा सरकारी लगानीमा ठुला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक लगानी गर्न तयार रहेको बताउनुभयो ।
उहाँले कल्पना नै नगरिएको फुटसल निर्माण जुम्लालाई स्पोर्ट हब बनाउन योग्दान गरेकोमा धन्यवाद दिदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

ग्रासुट फुटबल आयोजन गर्न निर्देशन
अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेल क्षेत्रको संस्थागत विकासका लागि ग्रासुट फुटबल प्रतियोगितालाई प्राथमिकताका साथ सञ्चालन गर्न निर्देशन दिनुभयो ।

खेलकुद विकास समितिको स्वागत कार्यक्रममा उहाँले भन्नुभयो, “ग्रासुट भनेको ६ वर्षदेखि १२ वर्ष उमेर समुहका हरेक बालबालिकालाई फुटबल खेलाउने हो । सानैदेखि खेल क्षेत्रमा सहभागी गराए भोली आँफै खेल क्षेत्रमा लाग्छन् । ”

आफु निर्वाचित भएपछि ग्रासुट फुटबललाई प्रथामिकता दिएर अघि बढेको अध्यक्ष शेर्पाको भनाई छ । उहाँले भन्नुभयो,“बालबालिका सधै टिभी मात्रै हेर्छन, अन्य कुरा गर्छन, तर हप्ताको शनिवार अनिवार्य फुटबल खेलाएमा भिन्नै बानी, भिन्नै शैली आचरण भएका बालबालिका बीच भेट हुँदा नयाँ अनुभव गर्छन, नयाँ सिक्छन्, भातृत्वप्रेम हुन्छ । त्यसैले पनि ग्रासुट फुटबल आबश्यक छ ।”

जुम्लाको विरासतलाई कायम राख्न खेल क्षेत्रले पनि महत्वपुर्ण भुमिका खेल्ने भएकाले स्थानीय सरकारलाई लगानी गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

ग्रासुट फुटलबल प्रतियोगिता बिना खेलको दिर्घकालिन भविष्य नभएकाले जिल्ला खेलकुद विकास समितिलाई सबै विद्यालयमा समन्वय गरेर हरेक शनिवार ग्रासुट फुटबल प्रतियोगिता गर्न निर्देशन दिनुभयो ।

यता खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले स्थानीय सरकारको असहयोगले जिल्लाको खेल क्षेत्रको विकास कठिनाई भएको गुनासो गर्नुभयो ।

उहाँले तीन तहका सरकारलाई धाउँदा पनि सामान्य पूर्वाधार बनाउन समेत सहयोग नगरेको उल्लेख गर्नुभयो । एक्ललैले गरेर खेल क्षेत्रको विकास सम्भव नरहेको सबैलाई साथ दिन उहाँको अपिल छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button