तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पताल तेस्रोपटक ‘सिल’

सल्यान,  – सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना सङ्कलन गर्नुपर्ने भएकाले आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

सल्यानमा हालसम्म एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि बजार पूर्णरुपमा बन्द गरिएको छ । तिहारसँगै कोरोना सङ्क्रमण फैलिने खतरा भएपछि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुयभो । श्रीनगर बजारमा व्यापारी, बैंकका कर्मचारी, शिक्षकलगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष बुढाथोेकीले जानकारी दिनुभयो ।

जिल्लाको वागचौर नगरपालिकाको थारमारे तथा वागचौर बजार क्षेत्र पनि शनिबारदेखि एक साताका लागि सिल गरिएको छ । स्थानीय व्यापारी तथा नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नगरपालिकका तीनवटा वडा सिल गरिएको वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लामा केही समय कोरोना सङ्क्रमण एकदम न्यून भएकामा केही दिनअगाडि देखि भने तीव्ररुपमा देखा पर्न थालेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा देखिन थालेको छ । यसभन्दा पहिले कोरोना समुदायस्तरमा भने देखिएको थिएन ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button