तपाईँ सुन्दै हुनुहुन्छः

धुसेनीमा भएको फुटबल प्रतियोगिताको उपाधि कटुन्जे युवा क्लबलाई

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित धुसेनीमा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि कटुन्जे युवा क्लब कटुन्जेले हात पारेको छ ।
कटुन्जे युवा क्लब मेलम्ची-११ द्वारा आयोजित उक्त प्रतियोगितामा १० टिम सहभागी रहेकोमा आयोजक टिमले नै उपाधि आफ्नो कब्जामा लिएको हो ।
कोरोना कहरकाबीच स्वास्थ्य मापदण्ड पूरा गर्दै भएको प्रतियोगितामा विजेताले शिल्ड, मेडलसहित नगद रु.१५ हजार प्राप्त गरेको छ ।
पहिलो उपाधिका लागि फाइनलमा कटुन्जे युवा क्लब कटुन्जेसँग प्रतिस्पर्धामा उत्रिएका युनिक ब्याइज युथ क्लब तालामाराङले भने द्वितीय स्थानमै चित्त बुझाएको छ ।
उपविजेता बनेसँगै युनिक ब्याइज युथ क्लब तालामाराङले  शिल्ड, मेडल सहित नगद रु ७ हजार ५ सय पनि प्राप्त गरेको छ ।  २ गोलको अन्तरमा उपविजेता बनेको युनिक ब्याइज युथ क्लबले २ गोल गरेकोमा विजेताले भने ४ गोल गरेको हो ।
प्रतियोगिता पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सिपि दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button