तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका पार्कीलाई

नेपालगञ्ज। छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले हात पारेका छन् । क्रियटिभ ह्याण्ड्सको आयोजनामा नेपालगञ्जमा आज सम्पन्न प्रतियोगितामा उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पार गरेका हुन् ।

प्रथम स्थान हासिल गरेसंगै उनले ७५ हजार रुपैयाँ हात पारेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता पार्की यो उपाधिसंगै अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । त्यस्तै दोस्रो भएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

गत वर्षको विजेता आर्मीकै नवराज साउदले २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा चौथो स्थान हासिल गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ४६ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै पाँचौ स्थान हासिल गरे । सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घण्टा ४७ मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै छैठौं स्थान हासिल गरेका छन् । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएका भट्टराईले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए । महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपिएफकी पुष्पा भण्डारीले जितेकी छिन् । पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।

दोस्रो स्थान जुम्लाकी मञ्जु रावतले प्राप्त गरिन् । उनले १ घण्टा ३० मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै १५ हजार रुपैयाँ जितिन् । दाङकी शर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दुरी पुरा तेस्रो स्थान हासिल गरिन् । उनले १० हजार रुपैयाँ पाएकी छिन् । चौथो स्थान हासिल गरेकी सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गरिन् । लुम्बिनीकी अनिशा चौधरी पाँचौ तथा कल्पना चौधरी छैठौं भए ।

अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेण्डमा दुुरी पार गर्दा कल्पनाले १ घण्टा ४२ मिनेट ५२ सेकेण्डमा पार गरिन्। चौथोलाई ७, पाँचौंलाई ६ र छैठौंलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ। महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button