तपाईँ सुन्दै हुनुहुन्छः

तिनाउ नदीमा एक लाख माछाका भुराहरु छाडियो

रुपन्देही । माछा व्यवसायीलाई उत्साहित बनाउन रुपन्देहीमा रहेको तिनाउ नदीमा पाँचौं पटक माछाका भुराहरु छाडिएको छ ।

विश्व मत्स्य दिवसको अवसरमा शनिबार मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउ नदीमा एक लाख माछाका भुराहरु छाडिएको हो ।

मत्स्य विकास निर्देशनालयका अनुसार ४ जातका एक लाख माछाका भुरा तिनाउमा छाडिएको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले माछा उपभोग मात्रै नभएर यसले पर्यटकसमेत भित्राउने मुख्य बाटोको रुपमा पहिचान दिँदै गएको बताउनुभयो ।

उहाँले जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न, पानीमा अक्सिजनको मात्रा बढाउन माछाले भूमिका खेल्ने बताउनुभयो ।

पछिल्लो समय बाढी पहिरो, उद्योगहरुबाट निस्कने रसायनिक पदार्थ, फोहोरमैला, करेन्ट लगाउँदा नदीमा माछा घट्दै गएका छन् । जसले गर्दा जैविक विविधतामा असर गरेको छ नै यसले खोलामा जाल हानेर माछा मारी जीविकोपार्जन गर्दै आएका नागरिकको रोजीरोटीसमेत खोसिने अवस्थामा पुगेको छ ।

व्यवसायीले किसानलाई माछापालनमा उत्साहित गर्न, पानी शुद्ध राख्न र जैविक विविधतालाई बचाई राख्न प्रत्येक वर्ष एकलाख माछाका भूरा तिनाउमा छाड्ने गरिएको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देही अध्यक्ष दिवाकर भुसाल बताउनुहुन्छ ।

माछाका भुरा नदीमा छाड्नुअघि व्यवसायीले सचेतना र्याली निकालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button