तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा डेढ दर्जन बढी सडक कालोपत्रे हुने चरणमा

पर्वत । पर्वत जिल्लामा यस वर्ष डेढ दर्जनभन्दा बढी सडक कालोपत्रे हुने चरणमा पुगेका छन् ।

जिल्लाका सबै बस्तीमा सडक सुविधा पुगेको पर्वतमा यस वर्ष १७ वटा मुख्यमुख्य सडक कालोपत्र गरी सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । यस वर्ष जिल्लामा सबै सडक गरी कुल १ सय ५० किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने भएको हो ।

पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहको लगानीमा यस वर्ष १७ वटा सडकमा कालोपत्र बिच्छ्याउने काम सुरु भएको हो । सडकहरूमा केही सडक बहुवर्षीय ठेक्कामार्फत कालोपत्रेको चरणमा छन् भने केही सडक वार्षिक कार्यतालिका अनुसार चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो सडक दोविल्लादेखि फलेवाससम्मको सडक यही वर्ष नै पूरा हुँदैछ । दक्षिण पर्वतको चिसापानी–हुवास सडक खण्ड र बर्राचौर–खहरेखोलादेखि रानीपानी–बहाकी खण्ड पनि कालोपत्रे भइरहेको र बाँकी खण्डको काम निरन्तर हुने पूर्वाधार कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी लोकमार्ग अन्तरगतको शालिग्राम–रानीपानी सडक कालोपत्रेका लागि प्रक्रिया अघि बढेको र बहुवर्षीय ठेक्कामार्फत कालोपत्रे हुने भएको छ ।

हाल जिल्लामा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, संघीय सरकारको सडक डिभिजन कार्यालय, ग्रामीण सडक सञ्जाल आयोजना, पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई तथा सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत जिल्लामा सडक सञ्जाल विस्तार र स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button