तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना सफल हुन जरुरी’

जनकपुरधाम । दीर्घकालिन कृषि रणनीतिको लक्ष्य पुरा गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रमलाई सफल बनाउनु पर्ने आवश्यकतामा जोड दिईएको छ ।

प्रदेश नंं २ को प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजनाको समन्वय ईकाई धनुषाको आयोजनामा आजबाट जनकपुरधाममा शुरु भएको प्रथम चौमासिक समीक्षा कार्यक्रममा सहभागी भएका विज्ञहरुले कृषिको आधार भूमि प्रदेश न २ भएकाले यस ठाउँमा परियोजनाको कार्यक्रम शत प्रतिशत सफल हुनु पर्ने खाँचो औंल्याउनु भयो ।

सहभागीहरुले कार्यक्रमको बजेट तीनै तहका सरकार मातहत रहेकाले बजेट अनुसारको कार्यक्रम समयमा सम्पन्न गर्ने दायित्व तीनै वटा सरकारको रहेको बताउदै यसको सफलता तथा असफलता तीनै तहको सरकारका काँधमा आउने बताउनु भयो ।

कार्यक्रममा कृषि, पशुपक्षी तथा विकास मन्त्रालयका सहसचिव डा. विमल कुमार निर्मलले आयोजनाको कार्यक्रम समयमा सम्पन्न गरेर मुलुकलाई कृषि उत्पादनमा आत्म निर्भर बनाउन जरुरी रहेको बताउनु भयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सफल बनाउनका लागि समन्वयको भूमिका खेल्नका लागि आफू तयार भएको बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले प्रदेश नंं २ मा यस परियोजनाले चालु आर्थिक वर्षमा मात्र ३५ करोड केन्द्र सरकार मातहतको कार्यालय मार्फत, ३६ करोड प्रदेश सरकार तथा ५३ करोड ४ लाख प्रदेशका विभिन्न पालिका मार्फत बजेट विनियोजन गरेर परिचालन गर्ने लक्ष्य लिएको बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको प्रदेश समन्वय ईकाई धनुषाका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले परियोजना अन्तर्गत प्रदेश सरकार मातहतको कार्यालयहरुबाट सञ्चालित कार्यक्रमकोे लक्ष्य सन्तोषजनक नभएको भन्दै समयमा कार्यक्रम गर्नका लागि आग्रह गर्नु भएको छ ।

कार्यक्रममा विभिन्न जिल्लाहरुमा रहेको प्रदेश सरकार मतहतका कृषि सेवा विज्ञ केन्द्र, पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरु, अगुवा तथा सफल किसानहरु तथा सरोकारवाला अन्य कार्यालयका प्रमुखहरुको सहभागीता रहेको छ ।

दुई दिने समीक्षामा परियोजनाको कार्यक्रम सफल बनाउनका लागि भएको कठिनाई तथा समाधानको उपायहरुको बारेमा छलफल गरेर निष्कर्ष निकाल्यने कार्यक्रम रहेको निर्देशक वैकुण्ठ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button