तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु


बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका–१० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button