तपाईँ सुन्दै हुनुहुन्छः

जिप र्दुघटनामा मृत्यु भएकाको शव आफन्तलाई बुझाइयो

बैतडी । बैतडीमा मंगलबार भएको जिप र्दुघटनामा परी ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाइएको छ । शवको पोष्टमार्टम पछि हिजो साँझ नै आफन्तहरुलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मंगलबार बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजेतिर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ बर्षीया पार्वती चन्द सोही ठाउँका ७० बर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी चालक सहित ५ जना घाइते भएका र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका ४ जना भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ । यस्तै देहीमाण्डौंका कृष्णलाल लावड भने तलब बुझ्न भारत गएका थिए । उहाँ भारतको एक कम्पनीमा कार्यरत रहनुभएको थियो र गएको चैतमा मात्रै घर फर्किनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button