तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा हिंसाका घटना बढ्दो, कानुन कार्यान्वयनमा सरोकारवालाको जोड

 

अछाम  । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाई रहँदा जिल्लामा हिंसाका घटना बढिरहेका सरोकारवालाले बताएका छन् ।

अभियानको थालनी गर्दै जिल्लाका अधिकारकर्मी तथा सरोकारवालाले जिल्लामा महिला तथा बालबालिकामाथि हुने घटना बढिरहेको बताएका छन् ।

जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढिरहेका र त्यसमा महिला विभिन्न खाले हिंसाको सिकार भएरै यस्ता घटना हुने गरेको अधिकारकर्मी पशुपति कुँवरको भनाई छ ।

समग्र अछाम जिल्लामा महिला तथा बालबालिकामाथि हुने हिंसाको बारेमा जानकारी दिँदै अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिंह थापाले गाउँघरमा हुने घटना गाउँघर मिलाउने परिपाटीले पीडितले न्याय पाउन नसकेको बताउनुभयो ।

उहाँले जिल्लामा यो आर्थिक वर्षमा मात्र १९ आत्म हत्याका घटना मध्ये १३ घटना महिलाका मात्रै रहेको बताउनुभयो ।

हालसम्म जबरजस्तीकरणी ३ वटा, जबरजस्ती उद्योगका २ वटा, जातीय छुवाछूतका २ वटा र कर्तव्य ज्यान मार्ने उद्योगका ५ वटा घटना घटेको र सबैलाई कानुनी दायरामा ल्याएको डिएसपी थापाको भनाई छ ।

जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको सहयोग तथा सम विकास नेपाल अछामको आयोजनामा २९ औँ लैङ्गिक हिंसा विरुद्धको अभियान थालनी भएका छ ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य यज्ञ बोगटी रहनु भएको थियो । प्रमुख अतिथि बोगटीले १६ वटा मैनबत्ती जलाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

सांसद बोगटीले हिंसा विरुद्धका विभिन्न कानुन बनेका र कानुनको कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्ने र अपराधको संरक्षण गर्ने प्रथाको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले बनेका नियम कार्यान्वयनमा हरेकले सक्रियता देखाउनु पर्ने बताएका छन् ।

हरेक घरमा घट्ने घटना रोक्नका लागि कानुन कार्यान्वयनको खाँचो रहेकाले कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्नुमा पर्नेमा सहभागीले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, चौर पाटी गाउँपालिका, बान्नीगढी जय गढ गाउँपालिका र मेल्लेख गाउँपालिकाका जनप्रतिनिधिले १६ दिनको अवधिमा आफ्नो पालिकाका प्रत्येक वडामा छाउगोठ भए नभएको अनुगमनसहित हिंसा अन्त्यका लागि सचेतनाका कार्यक्रम लिएर जाने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहले पनि हिंसा विरुद्धको दिवसमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button