तपाईँ सुन्दै हुनुहुन्छः

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिनेः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकलाई बिहिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले लामो समयदेखी रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताउनुभयो । उहाँले सहमती भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमती हुन नसकेमा राज्यले गरिदिने समेत बताउनुभयो । ‘यदी सहमतीमा हुन नकसेमा राज्यले गरिदिन्छ भन्ने ढंगले अलिकति दह्रोगरी कानुन बनाएर सिधै राज्यले हस्तक्षेप गरेर भएपनि द्वैध स्वामित्वको अन्त्य गर्छाै’, मन्त्री अर्यालले भन्नुभयो, ‘नत्र सहमती भन्यो, तल मिलेर आउ भन्यो कुरा मिल्दै मिल्दैन । यसले समस्या सधै रहिरहने भयो । यो कुरालाई अन्त्य गर्नका निम्ती राज्यले हस्तक्षेप गर्छ । पहिलो लटमा मिलेर समझदारीपूर्वक आउनका निम्ती भन्ने । मिलेन भने राज्यले हस्तक्षेप गरेर भएपनि यो समस्याको समाधान गरिदिन्छ । त्यो खालको कानुन बनाएर हामी अगाडी बढेका छौ ।’

भूमिहिन सुकुम्बासीलाई भूमीको मालिक बनाउने सरकारको अभियान भएको भन्दै मन्त्री अर्यालले कानुन निर्माण देखी आजको संघर्षसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । अझ धेरै उपलब्धी हासिल गर्न बाँकी रहेको उहाँको भनाई थियो । मन्त्री अर्यालले जतिखेर जनताको हातमा रातो पुर्जा दिन सकिन्छ त्यतिखेर मात्र आयोगको कामले सफलता प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जतिखेर तपाइले जनताको हातमा पुर्जा दिनुहुन्छ त्यतिखेर जनताले तपाइको काम देख्छ । जनताले अनुभूत गर्ने, जनताले महसुस गर्ने, जनताले राहत महसुस गर्ने र हाम्रो कामले सार्थकता प्राप्त गर्ने भनेको जतिबेला यो आयोगले जनताको हातमा रातो पुर्जा थमाउछ त्यो बेला मात्रै यो हाम्रो अभियानले सार्थकता प्राप्त गर्छ ।’ त्यो ठाउँमा पुग्नका निम्ती थुप्रै प्रतिकूलता, जटिलटा, संघर्षहरु झेल्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

सरकारले महत्वपूर्ण र जटिल खालको जिम्मेवारी दिएको भन्दै उहाँले त्यो विश्वास कायम गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो काम भइहाल्छ नी भन्ने ढंगले हुदैन । निकै जटिल खालको कामको जिम्मेवारी तपाइहरुलाई सरकारले दिएको छ । तपाईहरुलाई विश्वास गरेर दिएको जिम्मेवारी हो । यो गहन जिम्मेवारीलाई तपाईहरुलाई कसरी पूरा गर्नुहुन्छ । त्यो तपाइहरुको हातमा छ ।’ आयोगले उक्त कार्य सही ढंगले पुरा गर्न सकेमात्र इतिहासमा स्वर्णीम अक्षरले आयोगको नाम लेखिने समेत उहाँले बताउनुभयो ।

जमिनलाई उपयोग गरेर उत्पादन बढाउनका निम्ती भूमी बैंकको अवधारणा ल्याइएको बताउदै उहाँले मानव र प्राकृतिक स्रोतको मिश्रणबाट नै विकास सम्भव रहेको बताउनुभयो । भूउपयोग ऐनलाई ठिक ढंगले कार्यान्वयन गर्न सकेमा मात्र नेपालमा भूमीमा समाजवादनको लागु गरेको हो भन्ने कुरा सावित हुने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button