तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली सिँचाइः प्राथमिकतामा राख्न उच्च स्तरीय टोली अनुगमनमा

कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर आयोजनालाई गति दिनेगरी यहाँ बिहीबार राष्ट्रिय योजना आयोग र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिब मधुसुदन अधिकारी, प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र अर्थ मन्त्रालयका सह–सचिब धनिराम शर्मा लगायत नौ सदस्यीय टोलीले महाकाली सिँचाइ तेस्रो चरणको स्थलगत अनुमगन गरेको हो ।

स्थलगत अनुगमनका क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनामा जाने बताउनुभयो ।

उहाँले वन कटानी र ऐलानी जग्गाको विवाद पनि छिट्टै हल गरेर सरकारले यो आयोजनालाई दु्रत गतिमा अघि बढाउने जानकारी दिनुभयो ।

त्यसैगरी सिँचाइ मन्त्रालयका सचिब मधुसुदन अधिकारीले महाकाली सिँचाइको निर्माणको गति सुस्त भएको महशुस भएको बताउनुभयो ।

महाकाली सन्धी अनुसार भारतले नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार दुई सय मिटर नहर र हेडरेडुलेटर लगायतका संरचना पनि निर्माण गरिरहेको सचिब अधिकारीले वताउनु भयो ।

उहाँले १३ किलोमिटर मुल नहर निर्माण भइसकेको र बाँकी निमार्णाधीन नहरमा पर्ने रुख कटान र ऐलानी जग्गाको मुआब्जा विवाद पनि चाँडै हल गरिने बताउनुभयो ।

एक दशकभन्दा बढी समयअघि सुरु भएको महाकाली सिँचाइ आयोजना विगतमा विभिन्न सरकारी प्रक्रियागत अल्झन्, आर्थिक अभाव लगायतका कारणले निर्माणमा ढिलाई हुदै आएको थियो ।

प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले स्थलगन अनुगमनमा आउनु अघि प्रधानमन्त्री कार्यालयमा गौरवको आयोजनाबारे गरिएको प्रस्तुतीमा महाकाली सिँचाइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा प्रस्ताव भएको बताउनुभयो ।

त्यसैगरी उहाँले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलका लागि आवश्यक ढुंगाको व्यवस्थापनका लागि पनि पहल गरिने बताउनुभयो ।

भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त नगरपालिका–९ मटेनासम्म एक हजार दुई सय मिटर नहर निर्माण गर्नुपर्ने छ ।

स्थलगत अनुगमनका क्रममा टनकपुर ब्यारेज क्षेत्र पुगेको नेपाली टोलीलाई टनकपुर पावर स्टेसनका महाप्रवन्धक एसके शर्माले कोरोना भाइरस महामारीका कारण नहर निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो ।

भारतले टनकपुर बाँधबाट सुक्खा याममा महाकाली नदीबाट तीन सय क्युसेक तथा वर्षा याममा एक हजार क्युसेक पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत कञ्चनपुरको मटेनादेखि कैलालीको मालाखेतीसम्म मूल नहर नहरको लम्बाई १५१ किलोमिटर छ । उक्त टोलीले सिँचाइ तेस्रो चरण, महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल, जनताको तटवन्ध फिल्ड कार्यालय नं. ७ ले गरेका कामकारबाही र महाकाली सिँचाइ व्यवस्थापन कार्यालयले गरेका कामहरुको समेत निरीक्षण÷अवलोकन गरेको छ । कञ्चनपुर आउनुअघि उक्त टोलीले धनगढीस्थित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसित समेत भेटघाट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button