तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा बाराका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणको क्रममा पर्सा र बाराका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानाबाट संकलन गरी ल्याइएको ८५ स्वाबको नमुनालाई परीक्षण गर्दा पर्साका ६ र बाराका चार जना गरी थप १० जनामा कोरोको सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरु सबै बीरगंज कै रहेका छन् ।

बीरगंज महानगरपालिका वडा नम्बर १० का दुई जनामा सङ्क्रमण देखिएको छ भने वडा नम्बर ३, ५ र १८ का एक/एक जनामा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो । यस्तै वडा नम्बर नखुलेको बीरगंज कै एक पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी बाराको जितपुर–सिमरा उप–महानगरपालिका वडा नम्बर २१का २ जना र वडा नम्बर २ का एक जनामा संक्रमण भेटिएको डा. चौरसियाले बताउनुभयो ।

यस्तै बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरु १७ वर्षदेखि ५२ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटी भ्यालु १७ देखि ३३ सम्म रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button