तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा निर्माण हुने १५ शैय्याको सरकारी अस्पतालको शिलान्यास

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कंचनपुरमा निर्माण हुने १५ शैय्याको सरकारी अस्पतालको आज शिलान्यास गरिएको छ ।

संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार बन्न लागेको प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गर्नुभयो ।

२०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बनाउन लागिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिका लागि पर्ने बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेकै कारण आज हामीले सरकारी अस्पतालको शिलान्यास गर्न पाएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा लेखेर जुन अगाडि बढाइएको थियो र आज शिलान्यास भएसँगै संविधान कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गर्नुभयो ।


हामीले राम्रो काम गर्यौ भने कसैलाई पनि गुहार गर्नु नपर्ने यादवले बताउनुभयो । १५ शैय्याको अस्पताल आधारभूत अस्पताल मात्र नभएको र अबको दिनमा अर्थ मन्त्रालयले एकैचोटी आइसियु , भेन्टिलेटरसहितको उपकरणहरु खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट समेत निकासा गरिसकेको यादवले जानकारी गराउनुभयो ।

उपप्रमुख निरु पोखरेलले १५ शैय्याको प्राथमिक अस्पतालबाट यस नगरपालिकाले मात्र नभई वरपरका पालिकाले समेत लाभ लिन सक्ने र यहाँका जनताले यस अस्पतालबाट सम्पूर्ण सेवाहरु पाने कुरा बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

सरकारी अस्पतालको शिलान्यास भएपछि नगरबासीहरु हर्षित भएका छन् ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवके स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी तथा सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button