२०७७ साल माघ १० गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको ग्रामिण क्षेत्रमा बन्ने भयो १५ शय्याका अस्पताल

अशोक विश्वकर्मा २०७७ मंसिर १५ गते १५:२३

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बिसौनामा सरकारले १५ शय्याको अस्पताल निर्माण गर्ने भएपछि स्थानीयमा खुशी छाएको छ ।

सरकारले पालिकास्तरमा नै अस्पताल निर्माण गर्ने नीति लिएसँगै बिसौनामा अस्पताल बन्ने भएको हो ।

बिसौनामा बन्न लागेको अस्पतालको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री आशा कोइरालाले शिलान्यास गर्नुभयो ।

पृथ्वी राजमार्गबाट झण्डै २० किलोमिटरको दुरीमा रहेको ग्रामिण क्षेत्रमा बन्ने अस्पतालका शिलान्यास गर्दै सांसद कोइरालाले ग्रामिण क्षेत्रको विकासका लागि सरकारको निर्णय कोशेढुंगा सावित हुने दावी गर्नुभयो ।

उहाँले ग्रामिण क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सुविधा लिन बजार केन्द्रित हुन नपर्ने बताउनुभयो । उहाँले अस्पताल निर्माण समयमा सक्न स्थानीयहरु सक्रिय र सचेत बन्नुपर्ने बताउनुभयो ।

जिल्लाको राईपुर, बिसौना र स्याङ्गजाका ग्रामिण क्षेत्रका नागरिकहरुलाई पायक पर्ने गरी अस्पताल निर्माण हुने भएपछि विरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने यहाँका स्थानीयहरुले विस्वास व्यक्त गरेका छन् ।

“विरामीलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गुमाउनुपरेको घटना ताजै छ ।” राजपुरका कृष्णप्रसाद भट्टराईले विगत सम्झदै भन्नुभयो “बषौँदेखिको हाम्रो आवश्यकता र सपना पुरा हँुदैछ ।” भट्टराईले ग्रामिण क्षेत्रका नागरिकहरुको कमजोर आर्थिक अवस्थालाई सम्बोधन गर्न र बढ्दो बसाइसराइ रोक्न अस्पतालले सहयोग पुर्याउने विस्वास ब्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा सहभागी हुनुभएकी शुक्लागण्डकी–११ बाँसपानीकी सरस्वती भट्टराईले यस अघि सुत्केरी महिलालाई डोकोमा बोकेर शहर लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

आवश्यक समयमा यातायातको सुविधा नपाउने यहाँका स्थानीयहरु घण्टौँको यात्रा गरेर स्याङ्जा सदरमुकाम वा जिल्लाको दुलेगौडा हुँदै पोखरा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

विसौनामा अस्पताल निर्माण गर्न केन्द्र सरकारले १८ करोड बजेट विनियोजन गरेको छ । पहिलो चरणमा एक करोड रुपैयाँ बजेट प्राप्त भएको स्वास्थ्य समन्वय समितिका सचिव जीवन पोख्रेलले जानकारी दिनुभयो ।

आगामी दुई बर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने गरी टेन्डर आह्वान गर्न सरकारले पालिकाहरुलाई निर्देशन दिएको छ ।

उक्त अस्पतालबाट एमबिबिएस डाक्टरसहित इर्मेजेन्सी सेवा, इसिजी, एक्सरे, भिडियो एक्सरे, माइनर अप्रेशनसम्मको सुविधा उपलब्ध हुने जनाइएको छ ।

अस्पतालबाट राइपुर, भुष्नापुर ,थामडाँडा, सिम्लेस्वाँरा, खोलाखेत, ओडारे, गहते, हट्टिया, स्याङ्जाको कोल्मा, नाम्चे, पोखरीछाप, ओरष्टे, किचनास, सालडाँडा लगायतका स्थानीय लाभान्वित हुनेछन् ।

यस्तै आज जिल्लाका थप पाँच पालिकाका एकैसाथ अस्पतालको शिलान्यास हुँदैछन् । भिमाद नगरपालिकामा बन्ने १५ शय्याको अस्पतालका लागि प्रतिनिधिसभा सदस्य केदार सिग्देलले, म्याग्दे गाउँपालिकामा बन्ने १० शय्याको अस्पताल गाउँपालिका प्रमुख माया रानाले, ऋषिङ्ग गाउँपालिकाको भिरकोटमा बन्ने १० शय्याको अस्पताल गाउँपालिकाका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले र देवघाट गाउँपालिकामा बन्ने १० शय्याको अस्पतालको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गर्नु भएको छ ।

जिल्लाको भानु नगरपालिकामा बन्ने १५ शैयाका अस्पतालको भने केही दिन पश्चात शिलान्यास हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।