तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा धान उत्पादन बढ्यो

सोलुखुम्बु । दुर्गम हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लाभरीका धान हुने क्षेत्रमा करिब प्रतिहेक्टर २.५ मेट्रिक टन उत्पाकत्व रही साँढे तीन हजार मेट्रिकटन धान उत्पादन भएको हो ।

जिल्लामा १ हजार ५२५ हेक्टर क्षेत्रफलमा ३ हजार ६२० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । यस वर्ष समयमा पानी परेकाले शतप्रतिशत धान रोपाई भएको जिल्लामा विगतका वर्षको तुलानमा वर्षे धान उत्पादनमा बृद्धि भएको हो ।

सोलुखुम्बुको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबुको माथिल्लो भाग, मुक्ली, देउसालगायतका डेढ दर्जन गाविसहरुमा घान खेती गरिँदै आएको छ ।

नेचासल्यान–१ रुड्ढाका कुलबहादुर बस्नेतले विगतका वर्षको तुलनामा समयमा पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यस वर्ष धान उत्पादनमा केही वृद्धि भएको बताउनुभयो ।

यसैगरी नेचासल्यान–२ का किसान गोविन्द निरौलाले सिंचाईका लागि राम्रो कुलो नभएका खेतहरुमा पनि यस वर्ष परेको अधिक वर्षाका कारण धान राम्रो उत्पादन भएको बताउनुभयो ।

सिंचाईको सुविधा भएको रोगको प्रकोप नभएको क्षेत्रमा धानको उत्पादनमा सन्तोषजनक उत्पादन भएको हो । विगतका वर्षको तुलनामा समयमा धान फलेपछि असिना समेत नपरेकाले उत्पादनमा वृद्धि भएको कृषि प्राविधिकहरुको भनाइ छ ।

जिल्लाका कृषकहरुले मोटा धानका रुपमा दुधेमार्सी, ताईचिन, मकवानपुरे, दोलाखे, पोखरेली लगायतका जातका धान र मसिनो धानहरु लगाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button