२०७७ साल माघ १० गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनबाट बहुमत, अल्पमत र नेतृत्वको लोकप्रियता जाँचौ : प्रधानमन्त्री ओली

रेडियो नेपाल २०७७ मंसिर १७ गते १०:४४

काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशनबाट नै को बहुमत र को अल्पमतमा छ भन्ने स्पष्ट हुने भएकोले यसै वर्षको चैत्रमा महाधिवेशन गर्न जोड दिनुभएको छ ।

मंसीर १३ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भन्नुभयो, ‘ एकता गरिरहँदा, एकताको बाटोतर्फ अघि बढिरहँदा हामीले शक्तिको हिसाब गरेनौं, सामथ्र्यको हिसाब गरेनौं । केही पनि हिसाब नगरिकन एकताको भावनाका साथ म आफैँले निर्णय गर्दा, म आफैँ अल्पमतमा पर्नेगरी मैले कमिटीहरूको निर्माण गरेको थिएँ । अल्पमतमा पर्ने नै गरी एकता गरेको थिएँ । पूर्व एमालेभित्रको स्थिति पनि हामी सबैलाई थाहा थियो र फेरि पूर्व माओवादी केन्द्रलाई दिइएको संख्यासमेत जोड्दा के हुन्छ ? त्यो पनि थाहा थियो र थाहा छ । एकतातर्फ जाँदाखेरी, एकताको भावनाका साथ जाँदाखेरी त्यस्तो संख्याले केही पनि बिगार्दैन । त्यो संख्या एकताको भावनाका साथ अगाडि बढ्नका लागि सबैमा एउटा उत्साह र समानताको भाव, सम्मानको भाव र हामी साझा कर्तव्यमा केन्द्रित भएर, साझा उद्देश्यमा केन्द्रित भएर, साझा लक्ष्य जम्मा गर्न अगाडि बढ्दै छौं भन्ने कुरालाई ध्यानमा राखेर अहिलेका कमिटीहरू मनोनयन गरिएका थिए । यी कुनै अधिवेशन, महाधिवेशन वा सम्मेलनबाट बनेका निर्वाचित कमिटीहरू होइनन् र अहिले कसैले बहुमत र अल्पमतको कुरा गर्दाखेरी कोही आफ्नो अलोकप्रियताले अल्पमतमा वा कोही लोकप्रियताले बहुमतमा गएको स्थिति पनि होइन । त्यही हो भने चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गछौं भनेका छौं र महाधिवेशन गरौं । लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि ! बहुमत को हो ? अल्पमत को हो ? त्यो गरे भइगो ।’

प्रस्तुत छ, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंसीर १६ गते बसेको सचिवालय बैठकमा दिनुभएको मन्तव्यको पूर्ण पाठ :

आदरणीय कमरेडहरू !
कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु ।
हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ । यो निकै जटिल छ । अझ बढी जटिलतम् बन्दै गएको छ । यस स्थितिमा मैले अध्यक्ष हुनुको नाताले र प्रथम अध्यक्ष हुनुको नाताले मैले पार्टीको एकता जोगाउने, पार्टी एकीकरणका कामहरूलाई सम्पन्न गर्ने, केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्धारण गरेको समयभित्र महाधिवेशन आयोजना गर्ने, बाँकी कामलाई अगाडि बढाउन आपूmलाई केन्द्रीत गर्दै त्यसैलाई सफल बनाउन लागिपरेको छु । र, म हरतरहले त्यही कर्तव्य पूरा गर्ने प्रयासमा लाग्नु आफ्नो जिम्मेवारी हो भन्ने ठानेको छु ।
प्रधानमन्त्रीको हैसियतमा मैले देशप्रति, जनताप्रति आफ्नो कर्तव्य, देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरूको रक्षा र स्वाभिमानलाई माथि उठाउने कामहरू सँगसँगै देशमा सुशासन र विकासको काममा जोड गरेको छु । सुशासन र विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने काममा मैले आपूmलाई केन्द्रित गरेको छु र गर्नुपर्छ भन्ने ठानेको छु ।

देशमा स्थिरता र स्थायित्व आवश्यक छ । हामीले सङ्घर्ष गरेर ल्याएको, बलिदान गरेर ल्याएको, हजारौं नेपालीको जीवन बलिदानबाट प्राप्त गरेको र लाखौको योगदानबाट प्राप्त यस प्रणालीको सुरक्षा, सुदृढीकरण र सफल कार्यान्वयनद्धारा अगाडि बढ्ने÷बढाउने कुरामा मेरो ध्यान केन्द्रित छ । पार्टी अध्यक्षको हैसियतले पार्टीलाई एकताबद्ध र सुदृढ गर्दै पार्टीका कामहरू व्यवस्थित गरी अगाडि बढाउने र नेपालको वामपन्थी आन्दोलन, प्रगतिशील आन्दोलन, अग्रगामी आन्दोलनको सफलता र साख गिर्न नदिने कुरामा पनि मैले आपूmलाई केन्द्रित गरेको छु ।
तर, मैले दुःखका साथ भन्नु पर्छ, मेरो टिमबाट र टिमभन्दा बढी शीर्ष स्थानहरूबाट यी कामहरू गर्न प्रधानमन्त्रीको हैसियतमा र पार्टी अध्यक्षको हैसियतमा मैले केकति सहयोग प्राप्त गरेको छु ? जगजाहेर नै छ । मैले यसमा केही भनिरहनु पर्लाजस्तो लाग्दैन ।

कात्तिक २८ गते ‘प्रस्ताव’ को नाममा मलाई समेत दिइएको र वितरण गरिएको जुन अत्यन्तै दुश्मनीपूर्ण लिखत छ, त्यो पढेर म आश्चर्यचकित भएको छु । दुःखित पनि भएको छु । त्यस लिखतको सम्बन्धमा म त्यसै भाषामा, त्यसै शैलीमा त्यसैगरी मैदानमा उत्रिन त नसकुलाँ, म त्यसो गर्न चाहन्नँ नै । त्यसमा धेरै शीर्ष नेताहरूको बुद्धि, सीप, अनुभव मिसिएको छ भन्ने अस्ति ३ गते कमरेड प्रचण्डले राख्नु भएपछि मलाई थाहा भयो । ‘मेरो मात्रै होइन, अरु साथीहरूका पनि अनुभवहरू, बुद्धिहरू र हर्कतहरू यसमा मिसिएका छन्, यो एकल होइन’ भनेपछि त्यो जानकारी प्राप्त भयो । ती आरोपहरू कुनै आवेग उत्तेजनामा लगाइएका होइन रहेछन् ! सोची सम्झिकन मेराविरुद्ध लाञ्चना लगाएर मलाई राजनीतिक रूपले बदनाम गर्ने र सिध्याउने उद्देश्यका साथ लिखत आएको रहेछ । त्यो कमिटीमा छलफलमा आएको छैन र छलफलमा आउन लायक पनि छैन । त्यसलाई कमिटीको कुनै राजनीतिक प्रस्ताव वा प्रस्तावको रूपमा स्वीकार गर्न, त्यसमा बहस गर्न वा छलफल गर्न सकिँदैन र मिल्दैन । सकिँदैन पनि, मिल्दैन पनि । त्यो नितान्त लाञ्छनाको पुलिन्दा हो । त्यो झुटको पुलिन्दा हो । मैले त्यसलाई जवाफ नदिए पनि हुन्थ्यो, संक्षिप्त जवाफमा एकमुष्टढंगले त्यसलाई खारेज गर्दा पनि हुन्थ्यो । मैले अस्तिको बैठकमा भनिसकेको छु, त्यसलाई म अस्वीकार गर्दछु, झुठको पुलिन्दा हो र त्यसलाई अस्वीकार मात्रै होइन, खारेज नै गर्छु । यो कुरा मैले मंसिर ३ गतेको बैठकमा नै भनिसकेको छु ।

तर त्यसपछि त्यस झूठ लिखतलाई पार्टी केन्द्रीय कार्यालयको नाममा एउटा व्यक्तिको होस् वा समूहको होस्, जसको होस् पार्टी केन्द्रीय कार्यालयको नाममा प्रकाशित गरिएछ ! व्यक्ति वा समूहको लिखत, पार्टीमा प्रवेश नै नपाएको, प्रवेश नै नगरेको, छलफलमा समेत नआएको विषयमा पार्टीको लोगो राखेर, आधिकारिक दस्तावेजजस्तो गरी पार्टी केन्द्रीय कार्यालयका तर्फबाट भनेर प्रकाशित गर्ने र वितरण गर्ने काम भएको छ, जो अनधिकृत, अनुचित र यस्तो बलमिच्याईंपूर्ण काम भएको छ । अझ विधि र पद्धतिको कुरा गर्ने साथीहरूले आफ्नै छेउमा चाङ राखेर भेट्न आउनेहरूलाई त्यो पुस्तिका वितरण गरिरहनु भएको छ । त्यो आकारको पुस्तिकालाई पुस्तक त भन्न लायक छैन । खासमा पुस्तिका भन्न लायक छैन । तर पुस्तिकाको आकारमा त्यस अनधिकृत प्रकाशनलाई वितरण गरिरहनु भएको छ ।

अत्यन्तै संगीन आरोपहरूले भरिएको, शत्रुतापूर्ण मनसायको र अत्यन्तै गलत उद्देश्यले प्रेरित र वितरित त्यो पत्र, जसको वास्तवमा भन्ने हो भने मनसाय नै अत्यन्तै खतरनाक छ । र, त्यसले पार्टी एकतालाई पछारेर टुक्राटुक्रा बनाएको छ, ध्वस्त बनाएको छ । अझ त्यसको नाम छाप्दाखेरी ‘पार्टी एकता र पार्टी निर्माणका आधारहरू’ भनेर, उल्टै त्यसलाई एकताको आधार पो भनिएको छ ! मैले त्यसमा उठाएका प्रश्नहरूमध्ये केहीलाई स्पष्ट पार्ने कोशिस गरेको छु, यसलाई आफ्नो जवाफ भनौं वा यसलाई प्रस्ताव नै भनौ ।

यस प्रस्तावमा मैले तथ्यहरू स्पष्ट पार्ने कोशिस गरेको छु । केही साथीहरू स्पष्ट नभएको हुनाले आएको होइन । यसबाट पनि स्पष्ट हुने विश्वास त मलाई त्यति लागेको छैन कि यसबाट उहाँहरूमा स्पष्टता हुनेछ ! तर, आम कार्यकर्तापंक्ति र आम जनतालाई यसबाट सच्चाइ बुझ्न मद्दत पुग्नेछ । मैले त्यो विश्वास लिएको छु ।

मैले पार्टी मान्दिनँ, पार्टीका निर्णय मान्दिनँ भन्यो भन्नेजस्ता कुराहरू असान्दर्भिक ढंगले कुराहरू उठाइएको छ । अहिलेको बहुमत, अहिलेको अल्पमत कुनै प्रक्रियाबाट आएको अल्पमत र बहुमत होइन । यो अल्पमत र बहुमत कृत्रिम र अनुचित हो । यो कुबेलामा गरिएको अनुचित स्वार्थहरूको गठजोड र गलत मनशायद्धारा आफ्ना कुण्ठा, आक्रोश र विरोध पोख्न त्यस प्रकारले आएको छ ।

मैले कमिटीका निर्णय मान्दिनँ भनेको होइन । तर, एकता गरिरहँदा, एकताको बाटोतर्फ अघि बढिरहँदा हामीले शक्तिको हिसाब गरेनौं, सामथ्र्यको हिसाब गरेनौं । केही पनि हिसाब नगरिकन एकताको भावनाका साथ म आफैँले निर्णय गर्दा, म आफैँ अल्पमतमा पर्नेगरी मैले कमिटीहरूको निर्माण गरेको थिएँ । अल्पमतमा पर्ने नै गरी एकता गरेको थिएँ । पूर्व एमालेभित्रको स्थिति पनि हामी सबैलाई थाहा थियो र फेरि पूर्व माओवादी केन्द्रलाई दिइएको संख्यासमेत जोड्दा के हुन्छ ? त्यो पनि थाहा थियो र थाहा छ । एकतातर्फ जाँदाखेरी, एकताको भावनाका साथ जाँदाखेरी त्यस्तो संख्याले केही पनि बिगार्दैन । त्यो संख्या एकताको भावनाका साथ अगाडि बढ्नका लागि सबैमा एउटा उत्साह र समानताको भाव, सम्मानको भाव र हामी साझा कर्तव्यमा केन्द्रित भएर, साझा उद्देश्यमा केन्द्रित भएर, साझा लक्ष्य जम्मा गर्न अगाडि बढ्दै छौं भन्ने कुरालाई ध्यानमा राखेर अहिलेका कमिटीहरू मनोनयन गरिएका थिए । यी कुनै अधिवेशन, महाधिवेशन वा सम्मेलनबाट बनेका निर्वाचित कमिटीहरू होइनन् र अहिले कसैले बहुमत र अल्पमतको कुरा गर्दाखेरी कोही आफ्नो अलोकप्रियताले अल्पमतमा वा कोही लोकप्रियताले बहुमतमा गएको स्थिति पनि होइन । त्यही हो भने चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गछौं भनेका छौं र महाधिवेशन गरौं । लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि ! बहुमत को हो ? अल्पमत को हो ? त्यो गरे भइगो । तर, यसबीचमा जसरी एकता भाड्ने खालका प्रयासहरू भए, एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासहरूको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अबाञ्छित प्रयासहरू भएका छन् । यी अवाञ्छित प्रयासहरू कुनै पनि स्थितिमा सह्य र ग्राह्य हुँदैनन् । म फेरि पनि कमरेडहरूलाई स्पष्ट पार्न चाहन्छु, यी कुनै पनि हिसाबले सह्य, ग्राह्य र मान्य हुँदैनन् ।
कमरेडहरूले त्यागको कुरा गर्नुभएको छ । त्याग क–कसले गर्नुपर्ने हो ? म एक पटक अध्यक्ष भएको छु, निर्वाचनको माध्यमबाट निर्वाचित हिसाबले नै अध्यक्ष भएको हुँ । निर्वाचित अध्यक्षको हैसियतमा नै हो, नत्र भने अरु बाटा थिएनन् । त्यही निर्वाचित अध्यक्षको हैसियतमा वार्ता गरेको हुँ, एकता प्रक्रिया अगाडि बढाएको हुँ र दुई अध्यक्षको प्रबन्ध गरेर एक अध्यक्ष भएको हुँ । यो सब त्यही पृष्ठभूमिमा हो । अरु दावी गर्ने साथीहरू त कमसेकम १३÷१४ वर्ष, १५÷१६ वर्ष र ३२÷३३ वर्ष पार्टी प्रमुख भएर चलाउनु नै भएको होला ! उहाँहरूले त्याग गर्नु नपर्ने ? लोकप्रियताको पनि बहुतै कुरा चल्यो । ठीकै छ, भोलि चुनावहरू पनि आउँछन्, जनता र कार्यकर्ताले जाँचून हाम्रो लोकप्रियता, के भएको छ र ? हेरौं । जाँचौंला । महाधिवेशनहरू, अधिवेशनहरू हुन्छन्, जाँचौंला । ठीक छ नि ! बीचमा हतार किन गर्ने र ? ‘कू’ को शैलीमा एकता–एकीकरणको बाटो छाडेर सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ? के यी कामहरूले हामीलाई एकताको बिन्दुमा पु¥याउँछन् ? हामीले हिजो सहमतिका साथ महाधिवेशनसम्म जाने, एकता एकीकरणका काम तीन महिनाभित्र टुंग्याउने र दुई वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्ने भनेको होइन ? महाधिवेशन गर्दा पनि सहमतिका साथ महाधिवेशन गर्ने भनेको होइन ? ती कुरा हामीले हाम्रो वैधानिक व्यवस्थामा पनि समावेश गरेका होइनौं ? अब यस स्थितिमा बहुमत र अल्पमत भन्न खोज्नु भनेको यो जालझेल र षडयन्त्रको कुरा मात्रै हो । यो ‘कू’ को कुरा हो र यो फाटोतर्फको यात्राको ‘प्रस्ताव’ हो । त्यसकारण फाटोतर्फको यात्राको ‘प्रस्ताव’ लाई अस्वीकार गर्दै म अझै पनि एकतातर्फ जाऔं भन्ने आग्रह साथीहरूलाई गर्न चाहन्छु । मैले भनेको छु, महाधिवेशनबाट नेतृत्वमा आई अरु साथीहरूले सञ्चालन गर्नुस्, मलाई इच्छा छैन र रहर छैन । मैले अर्को निर्वाचनपछि प्रधानमन्त्रीमा पनि मेरो इच्छा छैन भनेको छु । अहिलेको सञ्चालनको सन्दर्भमा पनि सहमतिका साथ, परामर्शका साथ अगाडि जाऔं भनेको छु । मलाई आज बिहानको त धेरै जानकारी छैन, हिजोसम्मका गतिविधिहरूको बारेमा जानकारी छ । बाहिर शब्द एक खालका छन्, भित्र गतिविधि विल्कूलै विनाशकारी छ, विखण्डनकारी छ, देश र जनताप्रति गम्भीर धोका दिने प्रकृतिको छ । यसमा म के मात्रै आग्रह गर्न चाहन्छु भने, हामी त नेपालका ‘भाग्यमानीहरू’ भित्र पर्छौं । हामी आफैं खानलाउन पाएका, घर भएका वा घर नभए पनि घरभेटीको घरमा बस्न पाएका, नातागोता आफन्तको पनि कमसेकम बेडा पार लगाएकाहरू नै छौं । तसर्थः ‘भाग्यमानी’ छौं ! कमसेकम यति भइसकेपछि त हामीले देशको बारेमा अलिकति सोच्ने गरौं । जनताको बारेमा पनि अलिकति सोच्ने गरौं । कोभिड–१९ को महामारीका बारेमा पनि अलिकति त सोच्ने गरौं ! गरिबी कसरी हटाउने ? अशिक्षा कसरी हटाउने ? पछौटेपन कसरी हटाउने ? जनताका समस्या कसरी हटाउने ? त्यस बारेमा पनि सोच्ने गरौं । त्यतापट्टि पनि हाम्रो थोरै ध्यान मनदेखि नै जाने काम होस् । तर, हामी बहुतै चतुर खेलाडी निस्कियौं । शब्द एक प्रकारको र व्यवहार अर्कै प्रकारको ! अर्थात्, एक खालको शब्द, अर्को खालको व्यवहार गरेर चकित पारिरहेका छौं !

साथीहरूलाई मिटिङको हतारो छ । बाटो त्यतै लिने नै हो भने ठीकै छ २५ गतेसम्मको बैठक पर्सी नै सारिदिए हुन्छ, केही छैन । बाटो त्यही लिने हो भने के भयो र ? १५ गते नै सारिदिए पनि हुन्छ । होइन, एकताबद्ध भएर जाने हो भनेदेखि बैठकको हतारो मात्रै उचित हुँदैन ।

मैले देखिराखेको छु, साथीहरू अत्यन्तै दुःखित मन लिएर दौडधुप गरिरहेका छन् । चारैतिर कुदेका छन् । पार्टी एकता गर्न सबै नेताहरूलाई आग्रह गरिरहेका छन् । एकताको यो डोरी चुँडिन नपाओस्, यस्ता आरोप, यस्ता लाञ्छनाहरूका बाबजुद पनि त्यस्तो चिन्ता र एकताको प्रयास देखेर मलाई साथीहरूको माया लाग्छ । उहाँहरूको भावना देखेर, त्यो भावनाको कदर गरेर मात्रै होइन, त्यस भावनालाई मेरो अत्यन्तै सम्मान छ । तर, म एक्लैले सम्मान गरेर त हुँदैन । साथीहरू दौडिनु भएको छ, एकताका प्रयासहरू गर्नुभएको छ । तर हामी यथार्थमा यस्तो गुटबन्दीमा छौं कि एकातिर सघन वार्ता र मान्छे तान्ने प्रयास व्यापक रूपमा भइराखेका छन् । यसरी मान्छे तान्ने प्रयासले केही पनि हुनेवाला छैन । गर्न खोजेको एकता हो भने मान्छे तान्ने प्रयासले केही पनि हुँदैन । मैले पहिलेदेखि पनि भन्ने गरेको छु, एकता गर्ने हो भने मान्छे तानेर, कसैलाई अल्पमतमा पारेर, कसैलाई गलहत्याएर कसैलाई केही गर्छु भन्ने ठानिएको छ भने त्यस्तो गलत मनसाय सफल हुँदैन । होइन, हामी एकताबद्ध भएर जाने प्रयास पनि गछौं, एकताबद्ध भएरै जान्छौं भन्ने हो भने एउटा प्रक्रियाबाट जाऔं र विधिबाट जाऔं । एउटा प्रस्ताव नामको झूठको पुलिन्दा देशव्यापी वितरण गर्ने, त्यो पुलिन्दा पार्टीको नाममा छाप्ने, लोगो प्रयोग गरेर छाप्ने, केन्द्रीय कार्यालयको नाममा छाप्ने अधिकार तपाईलाई कहाँबाट प्राप्त भयो ? यो व्यक्तिगत पार्टी हो ? निजी पार्टी हो यो ? अधिकार कहाँबाट प्राप्त भयो ? कि पार्टी कब्जा भइसक्यो ? पार्टीका नामबाट र पार्टीको दस्तावेज भनेर त्यो कसरी गयो र पार्टीले प्रकाशन र प्रशारण गर्ने निर्णय कहिले ग¥यो ? वितरण गर्ने निर्णय कहिले ग¥यो ? पार्टीको लोगो प्रयोग गरेर कार्यालयबाट प्रकाशन गर्ने निणर्य कहिले ग¥यो ? इजाजत कहिले दियो पार्टीले ? यति हदसम्मको बेथिति गर्ने ? गुटबन्दी त थियो थियो, अब त गुटबन्दीभन्दा बढी बेथिति र मानिलिऔं यो पार्टी कब्जा नै भइसक्यो ? साथीहरूले पद्धति, प्रक्रिया र विधि निकै सिकाउनु हुन्छ । भन्नुहुन्छ, बोल्नुहुन्छ, लेख्नुहुन्छ, प्रचार गर्नुहुन्छ तर व्यवहार …?

मेरो आग्रह छ, अहिले पनि फेरि एकताको दिशामा फर्कौ । अझै पनि एकता जोगाउने प्रयास गरौं भन्ने मेरो आग्रह छ । हामीले ठूलो उपलब्धि हासिल गरेका छौं । दुनियाँकै वामपन्थी आन्दोलनमा, वामपन्थी मात्रै होइन, सामाजिक परिवर्तनका आन्दोलनहरूमा हामीले एउटा नयाँ बाटो र नयाँ दिशा स्थापित गरेका छौं । यो दुनियाँका लागि पनि अनुकरणीय हुनसक्दछ । यो बाटो अग्रगामी सामाजिक परिवर्तन र जनपक्षीय परिवर्तनका लागि अरुका लागि पनि अनुशरण गर्ने बाटो हुनसक्दछ । यस प्रतिफल र यस उपलब्धिलाई जोगाउँऔं । यो आफै प्राप्त भएको होइन । यो हामीले कुनै बम्पर उपहार प्राप्त गरेको होइन । यो कुनै चिठ्ठा परेर प्राप्त भएको होइन । यसलाई हामीले चर्को मूल्य चुक्ता गरी प्राप्त गरेका छौं । ठीक छ, सैद्धान्तिक बहसहरू गरौं । मेराविरुद्ध फलानो जातविरोधी, के विरोधी यस्तो विरोधी…त्यस्तो विरोधी..अनेक खालका आरोपहरू लगाइएका छन् र ती छदैँछन् । तर म स्पष्ट छु, जातीय कुरा उछालेर, साम्प्रदायिक कुरा उछालेर, जातजातिलाई भिडाएर जातीय पक्षधरता हुन्छ भन्ने मेरो विश्वास छैन । फेरि पनि म बहसमा उत्रिन तयार छु । जातजातलाई लडाउने, भूगोलभूगोललाई लडाउने र परस्परमा घृणा फैलाउने गरिनुहुँदैन । यसबाट कुनै पनि जातको र कसैको उत्थान हुन्छ भन्ने मेरो विश्वास छैन । कसैको पक्षपोषण हुन्छ भन्ने मेरो विश्वास छैन ।

आज हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेका छन् । त्यो सफल हुन दिइने छैन । त्यो सफल हुनेछैन । त्यो जनताबाट तिरस्कृत जमात हो । तर हाम्रो आपसी उल्झनको कारणले गर्दा यस्ता विभिन्न विकृत जमातहरूले फेरि डेराबाट बाहिर निस्किएर वातावरण धमिल्याउने प्रयास गरिरहेका छन् । यसप्रति हामी सजग हुनुपर्छ, हाम्रा उपलब्धिहरू जोगाउनु पर्छ, उपलब्धिहरूलाई सुदृढ गर्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने मेरो आग्रह हो । तसर्थः कम्तिमा पनि पार्टीको लोगो, केन्द्रीय कार्यालयको नाम प्रयोग गरेर जसरी तपाईको लिखत छापियो र अनधिकृत रूपमा वितरण भइरहेको छ, पहिलो कुरा त त्यसलाई रोक्नु र क्षमायाचना गर्नुपर्दछ ।

दोस्रो कुरा, त्यो आरोपपत्र, अभियोगपत्र र लाञ्छनापत्र जुन आएको छ । त्यो फिर्ता लिनुपर्दछ र त्यसको गलत प्रचार गरेकोमा क्षमायाचना गर्नुपर्छ । त्यस विन्दुबाट एकताको प्रयासलाई पुनः ठीक ट्रयाकतिर फर्काऔं । एकढंगले भन्ने हो भने हामी एउटा देश चलाउने पार्टीको यस्तो शीर्ष ठाउँमा छौं । यस शीर्ष ठाउँलाई यति प्रदूषित गरिएको छ, आज मान्छेले यस ठाउँप्रति नै घृणाभाव प्रकट गर्न थालिसकेका छन् । देश बनाउने ठाउँको नेतृत्व गर्ने, नेतृत्वपूञ्ज रहेको यो ठाउँ यसरी दुषित बनाइएको छ, जबकि यसले त सुगन्ध फैलाउनु पर्दथ्यो, यसले ‘म्याग्नेट’ को काम गर्नुपर्दथ्यो । वरिपरी सबै आकर्षित र उत्साहित भएर काममा जुट्ने अवस्था हुनुपर्दथ्यो । तर आज स्थिति त्यस्तो छैन । हामी आफ्नै प्रचार, आफैँले फैलाएका कुप्रचारबाट आफैँ आक्रान्त भएर प्रदूषित भएका छौं । तसर्थः यी बाटा र तरिकाहरू छाडौं ।

मैले प्रतिहमला सुरु गरेको छैन, प्रतिहमलाजस्ता कुराहरूमा मेरो रुचि पनि छैन र इच्छा पनि छैन । मेरो हदैसम्मको प्रयास पार्टीलाई एकताबद्ध राख्ने नै छ । आआफ्ना कमीकमजोरीहरू सच्याएर एकताबद्ध भएरै अगाडि जाने काम गरौं । २०७७ भदौ २६ गते हामीले एउटा निष्कर्ष निकाल्यौं । भोलिपल्ट बिहान गुटको भेला भएर त्यस निष्कर्षलाई “यो अस्थायी युद्धविराम हो, अहिले हामीसँग पर्याप्त तयारी पुगेन, तयारी नपुगेसम्मका लागि मात्र यो युद्धविराम हो” भन्ने कुरा गरियो । मैले त्यसैबेला अर्का अध्यक्षलाई यो के भएको हो भनेर सोधेँ ? त्यस विषयमा अहिले नजाऔं । हाम्रो बीचमा के संवाद भएका छन् ? त्यता पनि नजाऔं । तर, तत्कालैबाट त्यसलाई एउटा मजाकको विषय बनाइयो । त्यसलाई परिपालना गर्नुपर्छ भन्ने अवधारणा र व्यवहार किञ्चित रूपमा र मनमा पनि राखिएन । त्यसलाई कुशलतापूर्वक चलाखीका साथ कसरी भत्काउने ? त्यसमा नै आपूmलाई केन्द्रित गरियो । मैले त्यसो नगरौं भनेँ ।

त्यसपछि दुईजना अध्यक्षको बीचमा छmलफल भयो र हाम्रो सचिवालयका बैठक पनि भए, हामी २८ गतेभन्दा अगाडिको सचिवालयको एउटा बैठकमा एजेण्डाबिहीन भयौं । अर्को बैठकमा विषयसूचि, प्रस्तावहरू, कार्यसूचि र निर्णय के गर्नुपर्ने हो ? त्यो प्रस्तावसहित आउने भन्ने सहमतिका साथ उठ्यौं । तैपनि कुनै प्रस्तावको केही तयारी भएन । बैठक बसौं कि बैठक बसौं । बैठक बस्न नमान्ने ? बैठकबाट भाग्ने ? भन्ने मात्रै कुरा भयो । अहिलेसम्मका हाम्रा ७२ वटा बैठकले के कस्ता महत्वपूर्ण निर्णयहरू गरेका छन् ? के निर्णय गरे ७२ वटा बैठकले ? कुनै महत्वपूर्ण निर्णयहरू गरेको अनुभूति छैन । आमरूपमा भन्ने हो भने केही औपचारिकताका कुरालाई छाडेर भन्ने हो भने खिचोला र झमेला, कुण्ठा र विरोध, आकाङ्क्षा र अतृप्तिका कुराहरू छर्ने र छिरल्ने बैठकहरू भए । मैले बैठकलाई व्यवस्थित ढंगले गरौं, बैठकको संख्या मात्रै धेरै गर्ने होइन, बैठकलाई व्यवस्थित ढंगले गरौं, व्यवस्थित ढंगले अगाडि बढौं र बैठक बसेपछि यस बैठकले के निर्णय गर्छ भनेर मान्छेहरूले हेर्छन । के निर्णय गर्छ भनेर हेर्ने भएपछि हामीले देश र जनतालाई बैठकका निष्कर्ष र निर्णयहरू यी हुन् भनेर दिनसक्नु पर्दछ, यस्तो व्यवस्थित बैठक गरौं भन्ने कुरामा जोड दिने गरेको छु ।

अनि बैठकहरूमा कोभिडको सन्दर्भम थुप्रै छलफल ग¥यौ । विभिन्न राष्ट्रिय समस्याको सम्बन्धमा थुप्रै बैठकहरू भए । त्यस्ता राष्ट्रिय महत्वका बैठकहरूमा साथीहरूको कुनै रुचि छैन, इच्छा छैन र सहभागिता पनि छैन । खासगरी अर्का अध्यक्षको कुनै रुचि देखिंदैन । त्यस्ता बैठकमा सहभागिताको कुनै रुचि नै छैन । जबकि विपक्षी दलका नेताहरूसमेत कैयौंमा आउँछन् । तर उहाँको त झमेला बढाउने बैठकहरूमा मात्रै रुचि छ । हामीले गर्नुपर्ने काम यतिबेला यही झमेला बढाउने हो र ? आज पनि हामी देशका बारेमा सोच्न सकिराखेका छैनौं । जबकि हामी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गरिराखेका छौं । अनुकूल बनाइराखेका छौं । भारतका विदेश सचिव नेपाल आए र दुईपक्षीय सम्बन्धलाई उचाइमा पु¥याउने, आपसी समस्याहरू वार्ताबाट समाधान गर्ने भन्ने कुराकानी भयो र समाधान गर्न नसकिने कुनै समस्या छैनन् भनेका छन् । तथ्य, प्रमाण र न्यायका आधारमा समस्याहरू वार्ताद्वारा समाधान गर्ने भन्ने तरिकालाई केन्द्रभागमा राखेर विभिन्न विषयहरूमा छलफल गर्ने कुरा भएको छ । भोलि चीनका रक्षामन्त्री आउँदैछन् र दुईवटै छिमेकीहरूसँग हाम्रो सुमधुर सम्बन्ध लगातार विकास हुँदै गएको छ । पारस्परिक सहयोग, सहकार्य, त्यसमा तीव्रता र त्यसको प्रभावकारिताको सम्बन्धमा यहाँ रुचि र चासोसम्म छैन । यस्तो बेलामा हामीलाई ती विषयमा चर्चा गर्ने समय छैन । ती हाम्रा विषय पनि बन्दैनन् ।

हाम्रा विषय त कसरी मान्छे जम्मा गर्न सकिन्छ ? कसरी झूठफरेव फिजाउन सकिन्छ ? कसरी भ्रममा पार्न सकिन्छ र मान्छेहरूलाई कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ र तथाकथित बहुमत कसरी पु¥याउन सकिन्छ ? त्यसमा केन्द्रित छ । अहिले लेनिनवादी संगठनात्मक सिद्धान्तले यसढंगको पार्टी एकता भन्छ ? लेनिनवादी संगठनात्मक सिद्धान्तको अभावमा हाम्रो पार्टी विगतमा एकताबद्ध नभएको थियो ? पार्टी एकता÷एकीकरण लेनिनवादी संगठनात्मक सिद्धान्त, बहुमत र अल्पमत, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ, व्यक्ति कमिटीको अधिनस्थ र अल्पमत, बहुमतको अधिनस्थ हुन्छ भन्ने कुरा नसुनेर÷नबुझेर एकता नभएको थियो र ? त्यो कुरा हामीले महसुस गरेर बहुमत र अल्पमतका आधारमा वा लेनिनवादी संगठनात्मक सिद्धान्तबाट निर्देशित भएर यो एकता÷एकीकरण गरेका हौं र ? कि त्यसभन्दा बृहत आन्दोलनको उद्देश्य, राष्ट्रिय उद्देश्य र जनताका हितहरूमा केन्द्रित भई पार्टी एकता र एकीकरणतिरको उद्देश्यका लागि यसको महत्वलाई आत्मसात् गरेका हौं ? यी कुराहरूलाई ध्यानमा राखेर हाम्रा महान उद्देश्यहरू र ती उद्देश्यहरूप्रतिको हाम्रो प्रतिबद्धताबाहेक कुनचाहिँ संगठनात्मक सिद्धान्तले एकता गरायो ? अब अहिले आएर लेनिनवादी संगठनात्मक सिद्धान्त ! कतिबेला संगठनात्मक सिद्धान्त कुन रूपमा लागु हुन्छ ? एकता÷एकीकरणको बाटो छाडेर भ्रमपूर्ण ढंगले लेनिनवादी संगठनात्मक सिद्धान्तका कुरा गरेर ? त्यसो हो भने ठीक छ । प्रचण्डजीले भन्नुभएको म सम्झन्छु, “बाटो बिराइएको छ भने पुरानै ठाउँमा फर्किनुपर्छ र त्यसलाई त्यहीँबाट सच्याइनु पर्छ ।” ल, ठीक छ, त्यसै गरौँ । फेरि फर्किएर त्यहीँ जाऔं, २०७५ साल जेठ २ गते नै फर्किऔं । र, त्यहीँबाट फेरि सुरु गरौं । हाम्रा उद्देश्यहरू यथावत् नै छन् भने हाम्रो एकताको आवश्यकताको बोध यथावत छ भने, अहिले पनि हामीले त्यसलाई सान्दर्भिक देख्छौं भने जेठ २ गते नै फर्केर जाऔं ।

त्यसलाई तर्कपूर्ण र आधारयुक्त ढंगले छलफल गरी कमिटीहरूको विन्यास गरौं । त्यसपछि हामीले विधिमा परिवर्तन गरौं र भनौं कि लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा हामी अब अगाडि बढ्छौं । एकीकरणका काम सम्पन्न भइसके, स्थिर पार्टी बन्यो, हामी संक्रमणकालीन अवस्थामा छैनौं, पार्टी एकताका सन्दर्भमा एकीकरणको संक्रमणकालीन अवस्था टुङ्गियो । हामी स्थिर अवस्थामा छौं अथवा स्थायित्व प्राप्त गरेको अवस्थामा छौं । एउटा विधि र प्रक्रिया पु¥याएर हामीले दुई पार्टीको एकतापछि संयुक्त राष्ट्रिय मञ्च आयोजना गर्ने भन्यौं । हामीले नीतिको, विधिको, संरचनाको र नेतृत्वको छिनोफानो गरिसक्यौं । अब यो स्थायित्वको चरणमा प्रवेश गरिसकेपछि स्वभाविक रूपमा संगठनात्मक सिद्धान्तअनुसार बहुमत, अल्पमतको आधारमा नै पार्टी चल्छ । यो घोषणा गरौं र त्यो विधि बदलौ र अगाडि बढौं । हिजो एकताको स्पिरिटमा, एकताको आधारमा तर्कबाट होइन, भावनाबाट निर्देशित भएर एकताको असाधारण आकङ्क्षाबाट निर्माण गरिएका सङ्ख्यात्मक र संरचनात्मक पक्षको आधारमा तथाकथित बहुमत अल्पमत असान्दर्भिक कुरा हो भने ठीक छ, अब यसो गरेर अघि बढौं । यो कसैले नबुझेको कुरा होइन । तसर्थ, यस्तो मौसमी कुराले आन्दोलन निर्माण हुँदैन, पार्टी निर्माण र सुदृढ पनि हुँदैन ।

मेरो फेरि पनि आग्रह छ, हामी ठीक धारतिर, ठीक बाटो र ठीक प्रक्रियातिर फर्किऔं । आवेग, उत्तेजना र द्वेष छाडौं । आफ्ना निजी र समूहगत आकङ्क्षा परिपूर्तिका लागि पनि हतार नगरौ । त्यसका वैधानिक फोरमहरू छन् नि ! यो एकीकरणको एउटा संक्रमणकालीन स्थितिलाई सहमतिका साथ टुंग्याऔं । त्यसपछि त पार्टी आम विधिमै चलिहाल्छ । अहिले पार्टी विधिमा चल्दैन होइन, विधिमा चल्छ । तर, मूलभूत रूपमा यतिबेला एकीकरणको प्रक्रिया पूरा गर्ने, सहमतिका साथ प्रक्रिया पूरा गर्ने कुरा नै प्राथमिक महत्वको कुरा हो । हाम्रा कमिटीहरू कुन निर्वाचित भएर, कुन सदस्यताका आधारमा, कुन भोटका आधारमा, केका आधारमा हामीले अहिलेका कमिटीहरू निर्माण गरेका थियौं ? मनोनित गरेको होइन ? एकताको स्पिरिटलाई ध्यानमा राखेर मनोनित गरेको होइन ? एकताको भावनालाई ध्यानमा राखेर सानो र ठूलो नभनिकन पूरा सम्मानका साथ सङ्ख्यात्मक बहस नगरेको होइन ? अनि त्यो स्पिरिटबाट गरिएको अस्वभाविक सङ्ख्यात्मक प्रश्नलाई त्यस सन्दर्भभन्दा बाहिर गएर आफ्नो आवश्यकताअनुसार गलत र अनुकूल व्याख्या गर्न मिल्दैन । हामीले जे काम थालेका थियौं, पहिले त्यो पूरा गरौं । जे काम गर्ने र जहाँ पुग्ने भनेर थालेका थियौं, त्यहाँ पुगौं । त्यसैले पार्टीको सन्दर्भमा महाधिवेशनको मञ्चसम्म त जाऔं ! महाधिवेशनको मञ्चसम्म जाने हामीले हिजो संकल्प र निर्णय नै गरेका हांै र महाधिवेशनको मञ्चमा पनि एकताबद्ध बनौं भनेका छौं । एकता र सहमतिका साथ एकताको महाधिवेशन गर्ने भनेका छौं । अनि महाधिवेशन गर्नुभन्दा चार महिनाअघि अहिले फुटको खेती ? फुटको खेतीतर्फका यस्ता प्रयासहरूलाई मैले स्वीकार्न मिल्दैन ।

पार्टी एकीकरणका कामहरूलाई बीचैमा अलपत्र छाडेर, महाधिवेशनको आयोजना गर्ने, आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजाने अभिभाराबाट पर हटेर फुटको खेतीतर्फका प्रयाशहरू गरेर जाने कुरालाई मैले स्वीकार्न मिल्दैन । म आफ्नो यो अस्वीकारोक्ति यहाँ स्पष्ट गर्छु । र, यही अस्वीकारोक्तिका साथ मैले जुन प्रस्ताव तयार गरेको छु, त्यसलाई विधिसम्मत रूपमा यहाँ प्रस्तुत गर्दछु । अहिलेलाई यत्ति नै ।
धन्यवाद ।