तपाईँ सुन्दै हुनुहुन्छः

स्वयंसेविका दिवस सन्दर्भः बाँकेका २३ स्वयंसेविका सम्मानित

बाँके । बाँकेमा स्वयंसेविका दिवस मनाइएको छ । कोरोना भाइरस संक्रमणकाबीच १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस नेपालगन्जमा मनाइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा नगरका २३ जना स्वयंसेविकालाई सम्मान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले स्वयंसेविकाहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयंसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणमा स्वयंसेविकाहरुले समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुले ६० वर्ष कटेका महिला स्वयंसेविकालाई २० हजार रुपैयाँ दिएर अवकाश दिने सरकारको तयारीप्रति असन्तुष्टि पोख्नुभएको थियो ।

गर्भवती भएदेखि पाँच वर्षसम्मका बालबालिकाको निगरानी स्वयंसेविकाहरुले गरेकाले नेपालको मातृ शिशु मृत्युदर घट्नमा ठूलो भूमिका खेल्नेहरुलाई सरकारले उपेक्षा गरेको अग्रज स्वयंसेविका नारायणी रुपाखेतीले बताउनुभयो ।

कोरोना कहरका बेला माक्स र स्यानिटाइजर समेत नपाई स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा आफ्नो ज्यान दाउमा राखेर काम गर्दै आएका स्वयंसेविकाको योगदानको मूल्यांकन गर्दै कम्तीमा प्रति ब्यक्ति दुई लाखरुपैयाँ उपदान दिनुपर्ने नगर अध्यक्ष मनकुमारी सिलवालले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले स्वयंसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

दिवसका अवसरमा आयोजित सोही कार्यक्रममा बी–गूरुप बाँकेले स्वयंसेविका लागि १ लाख ९७ हजार मूल्यको माक्स, स्यानिटाइजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button