तपाईँ सुन्दै हुनुहुन्छः

जनशक्ति अभाव कारण गौतमबुद्ध विमानस्थल समयमै पुरा हुन सकेन

भैरहवा । विदेशी दक्ष जनशक्तिको अभावमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै पुरा नहुने भएको छ ।

विमानस्थलको निरिक्षण तथा अवलोकन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कोभिडका कारण विदेशी दक्ष जनशक्ति नआएका कारण विमानस्थल पुरा हुन नसकेको बताउनुभयो ।

विदेशी कामदारले असुरक्षाको महसुस गरेका कारण विशेष गरी थाईल्याण्डका दक्ष कर्मचारीहरु नआउँदा समयाबधि थप्नुको विकल्प नभएको मन्त्रीले बताउनुभयो ।

उपकरण जडानको काम मात्रै बाँकी रहेको बताउँदै मन्त्री भट्टराईले थाइका दक्ष कामदार आएमा छिटो सम्पन्न हुने बताउनुभयो । थाईले कुनैपनि अन्तर्राष्ट्रिय विमानस्थल नखोलेका कारण समस्या भएको उहाँले बताउनुभयो ।

विमानस्थल सम्पन्न गर्ने अवधि २५ दिन बाँकि हुँदा पर्यटन मन्त्रीले विमानस्थलको भौतिक प्रगति बुझ्नुभएको हो । अब के कति कारणले विमानस्थलको समय थप्ने हो भनेर २५ दिनको गृहकार्य गर्न समेत मन्त्री भट्टराईले आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।

३१ डिसेम्बर २०१४ मा काम सुरु भएको आयोजनाको ३१ डिसेम्बर २०२० सम्मका लागि पाँचौपटक म्याद थपिएको थियो ।

निर्माणाधीन विमानस्थलमा २ वटा कन्ट्याक्टमध्ये आइसिपी ०१ भनेको ६ अर्ब ८२ करोडको कन्ट्याक्ट र आइसिपी २ भनेको करिब ५० करोडको भ्याट सहितको रकम कन्ट्याक्ट भएको आयोजना प्रमुख प्रबेश अधिकारीले बताउनुभयो ।

२२ अरब रुपैयाँको ९६ प्रतिशत मुआब्जा समेत वितरण गरिएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button