तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचपत्र बनाउनेको भिड

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राहीको अत्यधिक भिड बढेको छ ।

सेवाग्राहीको अत्यधिक भिड जिल्ला प्रशासन कार्यालयमा भएपछि कोरोनाको जोखिम हुने अवस्थालाई देखेर १८ पालिकालाई ६ भागमा विभाजन गरेर सेवा दिने निर्णय गरेको छ ।

गाउँमा गरिव, दलित तथा विपन्नलाई राशन कार्ड वितरण भएको भनेर झुठो प्रचार गरेपछि सेवा लिन आउनेको भिड बढेपछि जिल्ला प्रशासनले बार अनुसारको सेवा दिने भएको धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिनु भयो ।

भौतिक दुरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाएर सेवा प्रवाह गर्नका लागि नै जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वास्तोलाले जानकारी दिनु भयो ।

नागरिकता वितरण सहित अन्य कामका लागि स्वास्थ्य मापदण्डको पालना गराउन पूर्ण सफल नभएपनि जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचय पत्रका सेवाका निम्ति तालिका बनाएर सार्वजनिक गरेको छ ।

जसअनुसार आइतबार हंसपुर, धनुषाधाम र विदेह नगरपालिका, सोमबार नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकाका सेवाग्राहीहरुलाई सेवा दिइने भएको छ ।

मंगलबार जनकपुरधाम उप महानगरपालिका, मिथिला बिहारी र क्षिरेश्वरनाथ नगरपालिका बुधबार जनकनन्दनी, लक्ष्मीनियाँ र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उप महानगरपालिका, मुखियापट्टी र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला, शहीदनगर र मिथिला नगरपालिका तथा धनौजी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button