तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

बर्दिबास । गौशाला नगरपालिका कार्यालयले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
शुक्रवार नगरपालिका कार्यालयले वडा नं. १२ को कान्तिबजारस्थित लक्ष्मनीयाँ स्वास्थ्य चौकीलाई एक समारोहबीच एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि गौशाला नगरपालिका प्रमुख शिवनाथ महतोले एम्बुलेन्सको कागजपत्र तथा साँचो स्वास्थ्य चौकी लक्ष्मीनियाकाँ व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णबहादुर विश्वकर्मालाई हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा नगरप्रमुख महतोले स्थानीयहरूबाट आएका मागलाई सम्बोधन गर्दै स्वास्थ्य चौकीमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थापन गर्ने, कान्ति बजारको सरसफाइमा ध्यान दिने र कान्ति बजारदेखि जमुनिया पुलसम्मका अधुरो बाटोलाई समेत आउँदो आर्थिक वर्षमा बजेट वियोजन गरी सबै समस्याहरू समाधान गर्न प्रतिबद्धता जनाउनु भएको छ ।
यसै गरी कार्यक्रममा नगर उपप्रमुख आशा लामाले बर्थिङ सेन्टरलगायत विकास निमार्णका कामहरूमा सुरु गर्ने बेलामा धेरै किसिमको समस्याहरूका बाबजुद पनि हामीले सुरु गरेको र यसलाई बिस्तारै सुधार गर्दै जाने बताउनुभयो ।
उहाँले एम्बुलेन्स उपलब्ध भएर मात्र नहुने बताउनु  हुँदै  यसको राम्रोसँग व्यवस्थापन गरेर चलाउनु पर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले एम्बुलेन्स खरिदमा अप्ठ्याराहरू आए पनि खरिद गरी हस्तान्तरण गर्न सफल भएको र यसलाई राम्रोसँग व्यवस्थापन गरी चलाउनु पर्याे र यसमा सबै स्थानीयहरूको साथ र सहयोगको लागि समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button