तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रका साझा समस्याहरू सशक्त रुपमा उठाउँछौ : अध्यक्ष गोल्छा

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका साझा समस्याहरूलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले राज्य र उद्योगी व्यवसायी बिचको पुलको रुपमा महासङ्घले सशक्त रुपमा काम गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले देशका सामु विद्यमान आर्थिक, औद्योगिक व्यापारिक, वित्तीय तथा राजस्व र कर सम्बन्धी सयौँ समस्याहरू समाधानका लागि बारम्बार महासङ्घलाई मोफसलका उद्योगी व्यवसायीहरूले गुहारे पनि महासङ्घबाट हुने सहयोग नपाएकोमा असन्तोष प्रकट गर्नुभयो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वीरगञ्ज महानगरपालिकाले उद्योगी व्यवसायीहरूका लागि विशेष योजना ल्याएको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया तथा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता समेत निर्वाचित हुनु भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यहरु अरुणराज सुमार्गी, डी.बी. बस्नेत, विजय साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button