तपाईँ सुन्दै हुनुहुन्छः

भेडिहर जातीको पुर्खौली व्यवसाय सङ्कटमा

जनकपुरधाम । तराई मधेसका जिल्लाहरूमा बसोबास गर्ने भेडिहर जातीको पुर्खौली व्यवसाय सङ्कटमा परेको छ ।

भेडिहर जातीले भेडाको रुवाबाट तयार कम्बल (राडी)विक्री गरेर जीविकोपार्जन गर्दै आएकोमा अहिले भेडाको रुवाले तयार पारेको कम्बल बिक्री हुन छाडेपछि उनीहरू समस्यामा परेका छन् ।

विदेशमा बनेका आधुनिक कम्बलसँगै परम्परागत रुपमा तयार पारिएको कम्बलको विक्रीमा कमी आएपछि यस पेसामा लागेका व्यक्तिहरू अन्य पेसा तर्फ पलायन हुन थालेका छन् ।

भेडाको शुद्ध रुवाबाट तयार पारिने कम्बलको लागत मूल्य बढी हुने भएकाले विक्री हुन छाडेपछि यस व्यवसायमा लागेकाहरूको व्यवसाय सङ्कटमा परेपछि अन्य व्यवसाय तथा वैदेशिक रोजगारीतर्फ जान थालेको ४० वर्षदेखि जनकपुरधाम बजारसहित अन्य ठुला बजारहरूमा कम्बल विक्री गर्दै आएका सिराहाका गोल बजार नगरपालिका वडा नंं १२ वेतौनाका रामरतन पालले बताउनुभयो ।

अहिले शुद्ध भेडाको रुवाबाट तयार पार्ने कम्बलको खुद्रा मूल्य २ हजार देखि १० हजार पर्ने तर बजारमा १ हजार देखि २ हजारमा विदेशबाट आएका आधुनिक कम्बल पाइने भएकाले हुने खान देखि सर्वसाधारणले अहिले त्यही विदेशी कम्बल किन्न थालेपछि यसको उत्पादन तथा विक्रीमा व्यापक कमी आएको छ ।

सिराहा जिल्लामा मात्र भेडाको रुवाबाट १ दर्जनको सङ्ख्यामा कम्बल तयार गर्ने कार्यमा भेडिहर जाति लागेका भएपनि विक्री कम हुने गरेको छ । डब्बल साइजको कम्बल तयार पार्नका लागि एक जनालाई कम्तीमा पनि चारदेखि पाँच दिन लाग्ने भएकाले लागत मूल्य बढी पर्ने गरेको पालले बताउनुभयो ।

भेडा पालन गरेर जीविकोपार्जन गर्दै आएका भेडिहर जातीले भेडाको रुवा काटेर कम्बल तयार पार्ने गर्दछन् भने भेडालाई मासुको प्रयोगका लागि विक्री गर्ने गरेका छन् । अहिले कम्वलको विक्रीमा कमी आएका कारणले भेडाको रुवा काटेर फाल्ने अवस्था आएको सो जातीका अगुवाहरूले जानकारी दिनु भएको छ ।

खास गरेर धनुषा, सिराहा, सप्तरी, सुनसरी तथा मोरङ जिल्लामा यस जातीको बसोबास रहेका छ । यसको जनसङ्ख्या निक्कै कम रहेको छ । अहिले भेडाको कम्बल तयार पार्ने काम सिराहाको महनौर, सप्तरीका सिलहर र कन्चनपुर र सुनसरीको हरिहरमा केही उद्यमीहरू अहिले मेहनत गरिरहेको भेडाका कम्बल विक्रेता रामरतन पालले बताउनुभयो ।

पहिला भेडाको कम्बल धनी वर्गका व्यक्तिले किन्ने गरेका कारणले यस व्यवसायमा राम्रो आम्दानी हुने गरेका थिए । अहिले आधुनिक कम्बल बजारमा छ्याप छ्याप्ति मात्रामा भेटिन थालेपछि विक्री नै घटेको छ । पहिला १ किलो रुवा १ सय रुपैयाँमा विक्री हुने गरेकोमा अहिले आएर किसानले सितैमा फाल्नु पर्ने अवस्था आएको किसानहरूको गुनासो रहेको छ ।

अहिले भेडा पालन व्यवसायमा संलग्न रहेका किसानहरूको सङ्ख्या घट्दै गएको छ । किसानले सबै जिल्लामा गरेर केवल ५ हजारको सङ्ख्यामा मात्र भेडा पालन गरिरहेका छन् ।

पहिला २५ हजारको सङ्ख्यामा किसानले भेडा पालन गर्ने गरेका थिए । व्यवसाय नै सङ्कटमा परेपछि आफूहरूको व्यवसायको प्रबद्र्धनका लागि कुनै पनि सरकारले ध्यान नदिएको व्यवसायी पालले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button