तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतका सबै स्थानीय तहमा आयुर्वेद तथा जडीबुटी अभिमुखीकरण अभियान

सुर्खेत । कोरोना कहरपछि सुर्खेतलगायत आसपासका क्षेत्रमा आयुर्वेद औषधि तथा जडीबुटीतर्फ सर्वसाधारणको आकर्षण बढेको छ । कर्णाली प्रदेश सरकारले नागरिकको मागलाई मध्यनजर गर्दे आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम नै सञ्चालन गर्दे आइरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका नौ वटै स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले जानकारी दिनु भयो ।
उहाँले रोग प्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न आयुर्वेदको महत्त्व, आयुर्वेद चिकित्सा पद्धति र जडीबुटीको पहिचान, उपयोगिता तथा प्रयोग गर्ने विधिलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको बताउनुभयो ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले कर्णाली प्रदेश सरकारले विभिन्न चिकित्सा पद्धतिलाई एकीकृतरुपमा अगाडि बढाएकाले जनस्वास्थ्य कार्यालय मार्फत आयुर्वेद प्रवर्द्धन तर्फ जडीबुटीको महत्त्वका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाउनु भयो ।
उहाँले सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि जनस्वास्थ्य कार्यालयलाई हालसम्म पाँच लाख रुपैयाँ प्राप्त भएको बताउनु भयो । उहाँका अनुसार आयुर्वेद तथा जडीबुटीको उपयोगिता, उपभोग विधि, पहिचानलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत आमा समूह हुँदै आम जनसमुदायसम्म सचेतना फैलाउने उद्देश्य रहेको छ ।
आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण अभियानमा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल, जिल्ला जनस्वास्थ्य प्रमुख वाग्ले, औलो रोग फोकल पर्सन उदय विसी, स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख आचार्य, जिल्ला जनस्वास्थ्यका ल्यावटेक्निसियन दयाराम पंगालीलगायतको सहभागिता रहेको छ ।
कोरोना कहरपछि आयुर्वेद तर्फ आकर्षण बढ्दै
कर्णालीमा कोरोना कहरपछि आयुर्वेद औषधितर्फ थप आकर्षण बढेको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न भन्दै आयुर्वेदिक जडीबुटी खुवाउने गरिएपछि आयुर्वेदको महत्त्व थप बढ्दै गएको हो ।
चिकित्सकको सल्लाह अनुसार सङ्क्रमणबाट जोगिन यहाँका धेरै नागरिकले आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोग गर्दे आएका छन् । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागे पनि सस्तोमा उपचार हुने भएकाले यसतर्फ सेवाग्राहीको आकर्षण बढेको आयुर्वेदका जानकार बताउँछन् ।
प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष विनोद ढकालले जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले सर्वसाधारणको आयुर्वेदतर्फ आकर्षण बढेको बताउनुभयो । उहाँका अनुसार औषधालयबाट दैनिक एक सय बढीले आयुर्वेदिक औषधि लिने गरेका गरेका छन् ।
औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना भाइरसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो, तुलसीलगायत जडीबुटीबाट बनेका अमृत चियालगायत औषधिको उपभोग बढ्दै गइरहेको जनाउनु भयो । उहाँले औषधालयबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र हालसम्म करिब ६ हजार बढी नागरिकले गुर्जोको प्रयोग गरेको बताउनुभयो ।
उहाँका अनुसार प्रदेशमै पर्याप्त जडीबुटीको भण्डारण रहे पनि सङ्कलन तथा प्रशोधन अभावमा तुलनात्मकरुपले धेरै महँगो मूल्यमा बाहिरबाट औषधि ल्याउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button