तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रीको भारत भ्रमण : सीमा समस्यालगायतका विषयमा छलफल हुने

फाइल तस्बिर

काठमाडौँ । नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदै छ ।

तीने दिने सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भोलि(बिहीबार) बिहान नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपाल भारत सम्बन्धको समग्र आयामबारे छलफल गर्ने र आगामी बाटो तय गर्न सक्ने हैसियतमा रहेको नेपाल भारत संयुक्त आयोगको पहिलो र दोस्रो बैठकपछि यसले खासै गति लिन सकेको थिएन ।

सन् २०१४ मा काठमाडाँैमा यसको तेस्रो, सन् २०१७ मा नयाँ दिल्लीमा चौथो र सन् २०१९ मा काठमाडौँमा पाँचौँ बैठक बसेको थियो ।

बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा सीमा समस्या, इपिजी प्रतिवेदन, सन् १९५० को सन्धि र कोभिड नियन्त्रणमा सहयोग आदान प्रदानलगायतका विषयमा छलफल हुने भएको छ ।

भ्रमणको पूर्वसध्यामा रेडियो नेपालका प्रमुख सम्वाददाता प्रमोद दाहालसँग आज कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकको कार्यसूचीबारे जानकार दिनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा सङ्घीय सांसदबाट स्वीकृत भएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटिएको नक्साबारे पनि गम्भीरतापूर्वक छलफल हुने र समस्यालाई बल्झाई रहने भन्दा पनि समाधान गर्ने दिशातर्फ छलफल अघि बढ्ने जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्धको नेपालको सङ्घर्षमा भारत सरकारले सहयोग गर्दै आइरहेको र आफ्नो भ्रमणका क्रममा कोभिड–१९विरुद्धको खोपको उपलब्धताबारे पनि थप छलफल हुने जानकारी दिनुभयो ।

मुलुकमा राजनीतिक विवाद चर्किरहेको बेला हुने यस्ता बैठकहरूमा नेपालको हात तल पर्न सक्ने आशङ्का व्यक्त भइरहेको छ भन्ने एक प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले ती अनावश्यक आशङ्का भएको बताउनुभयो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भइरहँदा परराष्ट्र मन्त्री ज्ञवालीले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाट पनि गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button