तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको ग्रामीण नाकाबाट पेट्रोलियम पदार्थको तस्करी बढ्दै

वीरगञ्ज । नेपालमा भारतमा भन्दा पेट्रोलियम पदार्थको मुल्य झण्डै प्रति लिटर ३२ रुपैयाँ देखि ३७ रुपैयाँँ सस्तो भएपछि पर्साको ग्रामीण क्षेत्रबाट अवैध रुपमा भारततर्फ इन्धनको तस्करी हुने क्रमले तीव्रता पाएको छ ।

वीरगञ्जमा प्रति लिटर १०५ रुपैयाँ ५० पैसा पर्ने पेट्रोल सीमावर्ती भारतीय नाका रक्सौलमा १ सय ३८ रुपैयाँ ३४ पैसा पर्ने र डिजल बीरगञ्जमा प्रति लिटर ८९ रुपैयाँ ५० पैसा पर्ने तथा रक्सौलमा प्रति लिटर १ सय २६ रुपैयाँ ७६ पैसा पर्ने हुँदा एक लिटरमै पेट्रोलमा ३१ रुपैयाँ ८४ पैसा र डिजलमा ३७ रुपैयाँ २६ पैसा सस्तो पर्ने भएपछि सीमावर्ती क्षेत्रबाट व्यापक रुपमा इन्धनको तस्करी भइरहेको ग्रामीण क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

पर्साको मिर्जापुर, आसवारी, जानकीटोला, पाडेपुर, पिडारीगुठी, महादेवपटी, सुवर्णपुर, बिजयबस्ती लगायतका नाकाबाट भारततर्फ डिजल पेट्रोलको तस्करी हुने गरेको छ ।

तस्करहरुले ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित नेवा पेट्रोल पम्प, जगरनाथपुर स्थित मन्दिप आयल स्टोर, धोविनी तथा पोखरिया नगरपालिकामा रहेका पेट्रोल पम्पबाट मोटरसाइकल, टयाक्टरमा डिजेल र पेट्रोल गिलेन तथा ड्रममा भरी भारतीय बजार इनर्वा, भंगहा, मैनाटाड, धुमाटाड पुर्याउने गरेका स्थानियले जनाएका छन ।

सीमाक्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सुरक्षा युनिटहरु भएपनि उनीहरुको आँखा छलेर इन्धनको तस्करीले व्यापकता पाएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button