२०७७ साल माघ १४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा र स्वास्थ्यलाई नाफाको विषय बनाउन हुँदैन : मुख्यमन्त्री गुरुङ

सरोज विश्वकर्मा २०७७ पुष २९ गते १८:५८

फाइल तस्बिर

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकतालाई नाफा नोक्सानको विषय बनाउन नहुने बताउनुभएको छ ।

लमजुङमा आयोजित स्वास्थ्य बिमा सदस्यता दर्ता शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले शिक्षा स्वास्थ्य जस्ता क्षेत्रलाई व्यवसाय वा नाफाको विषय बनाउँदा महामारीका बेला देशमा झनै सङ्कट आइलाग्ने दाबी गर्नुभयो ।

शिक्षा र स्वास्थ्यलाई नाफाको क्षेत्र बनाएका अमेरिका युरोप जस्ता विश्वका विकसित राष्ट्रहरू पनि विश्वव्यापी कोभिड–१९ को प्रभावमा हार खानुपरेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

शिक्षा र स्वास्थ्य नाफाको क्षेत्र नभई सेवाको क्षेत्र भएको भन्दै यस विषयमा राज्य बलियो नभए सङ्कटमा सामना गर्न नसक्ने मुख्यमन्त्री गुरुङको दाबी थियो । उद्योग व्यवसायमा निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने तर सङ्कटको सामना गर्न शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा राज्य बलियो बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भन्दै गरिब, पिछडिएका अति विपन्न, महिला, दलित, जनजातिले यसबाट फाइदा लिन सक्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सांसदहरू, स्थानीय तहका प्रमुख एवं विभिन्न तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।