तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् महसुल घटाउने विषयमा सहमति

सोलुखुम्बु । सल्लेरीमा दिन प्रतिदिन बढ्दै गइरहेको लोडसेडिङ अन्त्यको माग गर्दै आएका उपभोक्ता र सल्लेरी च्याल्सा विद्युत् कम्पनी बिच माघ महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने सहमति भएको छ ।
सल्लेरी च्याल्सा विद्युत् कम्पनीको साधारणसभास्थलमै आफ्ना माग सहित पुगेका उपभोक्ता तथा शेयरधनीहरु र कम्पनीका सञ्चालक समितिबिच माघ महिनाभित्रै लोडसेडिङ हटाउने र महसुल घटाउने विषयमा सहमति भएको हो । उपभोक्ता तथा शेयरधनीका माग पुरा नगरी साधारण सभा आयोजना गरिएको भन्दै उपभोक्ताले आन्दोलन गरेपछि कम्पनी उपभोक्ताको माग पुरा गर्न तयार भएको हो ।
साधारण सभा गर्न नदिने भन्दै कम्पनी परिसरमा आन्दोलित भएका उपभोक्ता तथा सेयरधनी र विद्युत् कम्पनी बिच लोडसेडिङ हटाउन र महसुल घटाउने विषयमा सहमति भएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीका अध्यक्ष डा. मिङमारग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उपभोक्ताहरूले उठाएको माग जायज भएकाले सक्दो छिटो काम अघि बढाउने उहाँले बताउनुभयो ।
कम्पनीले उपभोक्ताबाट शेयर रकम सङ्कलन गरे पनि शेयर प्रमाण पत्र तथा बोनस वितरण नगरेको भन्दै उपभोक्ताले आन्दोलन शुरु गरेका थिए । तोकिएको मितिमा माग पुरा नभए आन्दोलनलाई निरन्तरता दिइने सोलुदूधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।
विद्युत् विस्तारका क्रममा जथाभाबी पोल गाडिनुका साथै तार टाँगिएकाले दुर्घटनाको जोखिम बढेकाले पोल र तारको उचित व्यवस्थापन गर्नका लागि पहल गर्ने, बजार क्षेत्र तथा जोखिमको क्षेत्रमा तार अन्डरग्राउन्ड वा इन्सुलेसन गर्ने वा अन्य सुरक्षाका उपाय अवलम्बन गर्ने लगायतका विषयलाई पनि बिस्तारै कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button