तपाईँ सुन्दै हुनुहुन्छः

२३ औँ भुकम्प दिवस उदयपुरमा ‘सिमुलेशन डेमो’ सहित सम्पन्न 

उदयपुर । उदयपुरमा २३ औँ भुकम्प सुरक्षा दिवस विभिन्न सचेतना कार्यक्रम र र्‍याली गरी मनाइएको छ ।
सदरमुकाम गाइघाटस्थित त्रियुगा माविको प्राङ्गणमा मनाइएको कार्यक्रममा भुकम्प सुरक्षा सम्बन्धी जनचेतनामूलकता कार्यक्रमहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा भौतिक संरचनाहरूका कारण भुकम्प आउँदा हुने धनजनको क्षति र त्यसलाई विधिगत तरिकाले तत्काल उद्धार गर्न नसक्दा बढी मानिसहरू मर्ने अवस्थालाई मध्यनजर गर्दै कम धनजनको क्षति हुने गरी चेतना फैलाउन सशस्त्र प्रहरीले उद्धार अभ्यास तथा ‘सिमुलेशन डेमो’ प्रस्तुत गरेका थिए ।
सिमुलेशन डेमो सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्का उदयपुरको संयुक्त प्रस्तुति रहेको थियो । त्यसमा भूकम्पबाट क्षति ग्रस्त व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धी उत्कृष्ट उद्धार अभ्यास समेत गरिएको थियो ।
उद्धार अभ्यासमा ठुला तथा साना संरचना र भवनमा घाइते भएकाहरूलाई उद्धारको माध्यमबाट बचाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना र रेडक्रस सोसाइटी लगायतले खेल्ने भूमिका बारे चेतना मूलक अभ्यास गरिएको थियो  ।
अभ्यासमा भूकम्पबाट घाइते व्यक्तिहरूलाई तत्काल उद्धारका सामाग्रीहरू प्रयोग गरी प्राथमिक स्वास्थ्य उपचारपछि ठुला हस्पिटलसम्म पुराएर उपचार पछि बिरामी बचाउने अभ्यास गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख (सिडिओ) लगायतका अतिथिहरूले मन्तव्य राख्नु भएको थियो ।
माघ २ गते भुकम्प दिवस मनाउँदै आइएको छ । जसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, विभिन्न सङ्घ संस्था, सामाजिक अभियान्ता, सञ्चारकर्मी, नागरिककर्मी, स्थानीय सरकार, विद्यार्थी लगायतको संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम त्रियुगा नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटीले सहयोगमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button