तपाईँ सुन्दै हुनुहुन्छः

एउटै गाउँमा पाँच करोडको सुन्तला

सल्यान । सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८?९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् ।

यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको किसानहरुको भनाई रहेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरु बगैचामा आउन हिच्किचाएको बागचौर नगरपालिका–९ का किसान अंगेश्वर डाँगीले बताउनुभयो । विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहनुभएका डाँगीले कोटमौलाबाट मात्र वार्षिक ५ करोडभन्दा बढीको सुन्तला उत्पादन हुँदै आइरहेको बताउनुभयो ।

कोटमौलाका मात्रै झन्डै पाँच सय किसानहरुको प्रमुख खेतीको रुपमा सुन्तला खेती रहेको छ । कोटमौलाका किसानले सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताउनुभयो । ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाउनुभएका रेशमले गत वर्ष मात्र ९ लाख आम्दानी गर्नुभएको थियो । यो वर्ष पनि कोरोना र उत्पादन नै कम भएकाले केही घट्ने उहाँले बताउनुभयो ।

यस्तै गत वर्ष ३४ लाख सुन्तला बिक्री गर्नुभएका भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताउनुभयो । व्यापारीहरु अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने उहाँले बताउनुभयो ।

सल्यानमा १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदैँ आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button