तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा रापानी झरना

जाजरकोट । आहा ! कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । झरनाले धेरैको मन लोभ्याएको छ । जिल्लाकै सबैभन्दा आकर्षक मानिने बारेकोट गाउँपालिकामा रहेका झरना आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा रहेका छन् । बारेकोट पदमार्ग नजिकै रहेका तीन वटा झरनाको प्रवर्द्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

बारेकोट–८, लैखम गाउँबाट करिब १ किलोमिटर दक्षिण पूर्वको रापानी खोलामा तीन वटा झरना छन् । ती झरनाको बनावट पनि अनौठो खालको रहेको छ । एकै स्थानमा रहेका झरना आवश्यक प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको छ ।

सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सकेको छैन । झरनाको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।

माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आकर्षण बढाएको छ । झरनाको दृश्य हेरिरहौँ लाग्ने खालको रहेको छ । यहाँ तीन वटा झरना रहेका छन् । तल्लो झरना, बिचको झरना र माथिल्लो रापानी झरना रहेका छन् । छेउमै कलकल बग्ने नलसिंहगाड खोलाको सुन्दरतासँगै खुल्ला अनि वरिपरि हरिया पहाडहरूको बीचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम् आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने झरना क्षेत्रको अवलोकन गर्न पुग्नेहरू बनाउछन् ।

शनिबार तथा बिदाको समय झरनामा पुगेर फोटो खिच्न रमाउने युवा युवतीहरूको सङ्ख्या पनि ठुलै हुने गरेको लैखमका रामचन्द्र शर्माले बताउनुभयो । झरनासम्म पुग्नका लागि सहज पदमार्ग बाटो समेत छैन । झरना क्षेत्रको अवलोकन गर्न सहज पैदल मार्ग नहुँदा पुग्न समेत मुस्किल पर्ने गरेको शर्माको भनाइ छ ।

झरनासम्म पुग्नलाई गतिलो पर्यटन पदमार्ग निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरूले सहज रुपमा झरना अवलोकन गर्न टेवा पुग्ने स्थानीय रुद्र खत्रीले बताउनुभयो । करिब ७ सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंवदन्ती छ । राजाले पिएको पानी भएको हुँदा यस झरनाको नाम रापानी झरना रहन गएको खत्रीले बताउनुभयो । यहाँ सामान्य पूर्वाधारहरूको विकास गर्न सके पर्यटकहरूको आकर्षण बढ्ने विश्वास छ, खत्रीले भन्नुभयो ।

झरनाको प्रचार र प्रवर्धन गर्नका लागि गाउँपालिकाले पनि पहल गर्ने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ । बारेको गाउँपालिका क्षेत्रमा ओझेलमा रहेका थुप्रै पर्यटकीय स्थलहरू र तिनीहरूको प्रचारप्रसारमा गर्न गाउँपालिका लागि परेको छ अध्यक्ष शाहले बताउनुभयो ।

लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयहरू झरना स्थल पुगेर रमाउने गरेका छन् । यस क्षेत्रको विकास खास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु पर्नेमा स्थानीयको जोड रहेको छ ।

समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै १ सय मिटर, बिचको २ सय र माथिल्लो झरनाको १ सय ५० मिटर रहेको छ । झरना नजिकैबाट छर्लङ्ग देखिने बारेको प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउँदै बग्ने नलसिंहगाड खोला, वरिपरि रहेको हरियो वन जङ्गलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ ।

हिमाली जलवायुको सामीप्य महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जङ्गली जनावरहरू तथा पन्छीहरू देख्न सकिन्छ ।

यहाँ सामान्य पूर्वाधारहरूको विकास गर्न सके पर्यटकहरूको आकर्षण बढ्ने स्थानीयको विश्वास छ । झरनाको प्रचार र प्रवर्धन गर्नका लागि गाउँपालिकाको विकासमा टेवा पुग्ने देखिन्छ । ओझेलमा परेका यस्ता क्षेत्रको पहिचान खोजी तथा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षले समेत सार्थकता पाउने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button