तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सोलुखुम्बुका दुई स्थानमा रक क्लाइम्बिङ

सोलुखुम्बु । आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि सोलुखुम्बुका दुई स्थानमा रक क्लाइम्बिङ निर्माण भएको छ ।

सोलुखुम्बुको दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकाले रक क्लाइम्बिङ सेन्टर निर्माण गरेको छ । सम्भाव्यता अध्ययन गरेर तत्काल रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो ।
महाकुलुङ गाउँपालिका–१ पात्लेमा रक क्लाइम्बिङ सेन्टर निर्माण सम्पन्न भएको गाउपालिकाका अध्यक्ष सागर किरातीले बताउनुभयो ।

प्राविधिकको टोलीले गाउँपालिकाको बुङ, पेल्माङ, छेस्काम, गुदेल, चाचालुङ लगायतका स्थानको भीरको अध्ययन गरेको थियो ।

स्थानीय तथा अन्तर्राष्ट्रिय माउण्टेनरिङ गाइड तेण्डी शेर्पाको पहलमा विदशी दाताले उपलब्ध गराएको तीन लाख ६० हजार रुपियाँको सामाग्री र महाकुलुङ गाउँपालिकाको पाँच लाख रुपियाँको लागतमा रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो ।

त्यस्तै, सोलुखुम्बुको खुम्बपासाङल्हामु गाउँपालिका–१ खरिखोलामा रक क्लाइम्बिङको स्थापना गरिएको छ ।

अन्तराष्ट्रिय माउण्टेन गाइड ल्हाक्पा ग्याल्जेन शेर्पाको जग्गा व्यवस्थापन तथा गाउँपालिकाको पाँच लाख रुपियाँ लगानीमा खरिखोलामा रक क्लाइम्बिङ स्थापना गरिएको हो ।

२० मिटर उचाई रहेको भीरमा सात वटा रुट लकडाउनकै अवधिमा निर्माण गरिएको माउण्टेन गाइड शेर्पाले बताउनुभयो ।
रक क्लाइम्बिङमा तालिम लिन सके सगरमाथा आरोहणमा सहज समेत हुनेछ ।

खरिखोलाका वडाअध्यक्ष ङिमादोर्जी शेर्पाले रक क्लाइम्बिङले आन्तरिक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
खरिखोला तल्लो क्षेत्र पर्यटकका लागि खुम्बु प्रवेशद्वार भएकाले आन्तरिक पर्यटकलाई समेत आर्कषण गर्न सकिने अध्यक्ष शेर्पाले बताउनुभयो ।

रक क्लाईम्बिङलाई व्यवस्थित बनाउँदै लैजाने उहाँको भनाइ छ । यसअघि लुक्ला र खुम्जुङमा रक क्लाइम्बिङ सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button