तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा अनिश्चितकालका लागि यातायात सेवा बन्द

यातायात बन्द भएपछि पैदल हिड्दै यात्रु । तस्बिरः सागर परियार

 

जुम्ला । जुम्लामा माघ १ गतेदेखि अनिश्चितकालिन रुपमा यातायात सेवा बन्द भएको छ ।

नयाँ बसपार्क सञ्चालनका विषयमा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच विवाद हुँदा यातायात बन्द भएको हो ।

नगरपालिकाले चर्को कर असुलेर छायानाथ रारा यातायात प्रालीलाई नयाँ बसपार्क सञ्चालन गर्न दिने निर्णयको विरुद्धमा व्यवसायी आन्दोलित थिए ।

पुस २९ गतेसम्म वार्ता गर्न माग गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि यातायात बन्द गरेको यातायात व्यवसायी तेजेन्द्र हितानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले माघ १ गतेदेखि सबै यातायात सेवा बन्द गर्यौ । माघ २ दुई गते उपमेयरसँग छलफल भए पनि निष्कर्षमा पुगेन । यातायात व्यवसायीलाई धरासयी बनाउने देखियो ।” त्यसैले वार्ता सफल नभएसम्मका लागि यातायात पूर्ण रुपमा बन्द हुने उहाँले उल्लेख गर्नुभयो ।

तिला कर्णाली यातायात प्रालीका इन्चार्ज देवीबहादुर रोकायाले मुगुको यातायात प्रालीलाई चर्को कर असुलेर बसपार्क सञ्चालन गर्न लगाउने नगरको निर्णयले जुम्लाका यातायात व्यवसायीलाई लुट्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सहरका बसर्पाकमा पनि त्यति धेरै महँगो कर लाग्दैन तर जुम्लामा प्रति सवारी ७ हजार बढी कर असुल्ने निर्णय गरिएको छ । कोरोनाले गर्दा किस्ता तिर्न मुस्किल भएको अवस्थामा चर्को कर असुलेर यातायात व्यवसायीलाई धराशायी बनाउने खोजेको छ ।”

तीन दिनदेखि यातायात पुर्णबन्द हुँदा अत्यावश्यक कामका लागि छोटो तथा लामो दुरीको यात्रा गर्ने नागरिकलाई सास्ती भएको छ ।

स्थानीय दत्ते दमाईले स्थानीय सरकार आइसकेपछि नगरपालिका क्षेत्रमा विकासभन्दा विवाद बढी हुने गरेको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “सयौँ नागरिक हिँडेर सदरमुकाम जान बाध्य छन् । साना बालबालिका विद्यार्थी, माघी बिदामा गएका घरमै थन्किएका छन् ।” सुर्खेत नेपालगन्ज, काठमाडौँ जाने यात्रुहरू बिचल्लीमा परेका छन् । तर यातायात सञ्चालन गर्न स्थानीय सरकार, प्रशासन कसैको ध्यान गएको छैन ।

जुम्लामा सञ्चालित तिला कर्णाली यातायात प्राली, नमस्ते यातायात जुम्ला प्राली, सुर्खेत देउती यातायात प्राली लगायत ७ वटा प्रालीका यातायात सेवा पुर्णरुपमा बन्द भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button