तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा एक करोड खर्च गर्दै कनकासुन्दरी गाउँपालिका

कनकासुन्दरी गाउँपालिका । तस्बिरः सागर परियार ।

जुम्ला । कृषिका सम्भावनाहरूलाई अवसरमा रूपान्तरण गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाले कृषि क्षेत्रमा एक करोड बजेट खर्च गर्ने योजना बनाएको छ ।

कृषिबाटै रोजगारी सृजना, आर्थिक विकास, अर्गानी कृषिको प्रर्बदनसँगै आयात प्रतिस्थापन हुने खालमा कृषि योजनामा लगानी गर्ने गरी कनकासुन्दरी गाउँपालिकाले कृषिमा १ करोड बजेट विनियोजन गरेको हो ।

“यहाँको सम्भावनाको क्षेत्र भनेकै कृषि क्षेत्र हो । सिँचाई, मल, बिउ आपूर्तिका साथै व्यवसायीक योजना बनाएर कृषिमा बजेट खर्च गर्ने तयारी छ ।” गाउँपालिका अध्यक्ष नरविर रावतले भन्नुभयो ।  युवालाई रोजगारी, अर्ग्यानिक रैथाने बालीको संरक्षण, बाझो जग्गाको सदुपयोग हुने गरी कृषि क्षेत्रमा बजेट खर्च गरिने अध्यक्ष रावतले उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रमा पनि ओखर खेतीलाई प्राथमिकता दिएर काम गर्ने सोचेका छौँ । अध्यक्ष रावतले थप्नुभयो,“कनकनसुन्दरीमा ओखर खेतीका लागि उपयुक्त जग्गा धेरै छ । अन्य खेतीभन्दा ओखर खेतीमा दुःख पनि धेरै नहुने आम्दानी पनि धेरै हुने भएकाले किसानको जीवनस्तर उकास्ने गरी व्यवसायीक ओखर खेतीलाई प्राथमिकता दिएर बजेट खर्च गरिँदै छ ।”

कनकासुन्दरीकी उपाध्यक्ष उर्मिला खत्री भण्डारीले चालू आवमा पालिकाले ७० लाख र जलवायु अनुकूलनका लागि लापा संस्थाले ४० लाख गरी १ करोड १० लाख बजेट कृषिमा  छुट्टाइएको बताउनुभयो ।

उहाँले १ करोड १० लाखको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारे योजना बनाई अधिकांश किसानबीच सम्झौता भइसेकेको उल्लेख गर्नुभयो । व्यवसायीक ओखर खेतीलाई प्राथमिकता दिँदै, बाख्रा पालन, कुखुरा पालन, व्यवसायीक तरकारी खेती, लगायतका क्षेत्रमा बजेट छुट्टाइएको उहाँको भनाई छ ।

साथै, कनकासुन्दरी गाउँपालिकाले आफ्नो साढे तीन वर्षे कार्यकालमा लक्ष्य अनुसारका पूर्वाधार विकास गर्न नसकेको समेत बताइएको छ । सडक, खानेपानी, सिचाई, विद्यालय भवन, वडा भवन, बिजुलीको विकासमा भए पनि लक्ष्य अनुसार द्रुत विकास नभएको हो । अध्यक्ष रावतले भन्नुभयो,“पालिकामा करोडौँ बजेट आउँछ । उपभोक्ता समितिका कारण देखिने खालको विकास योजना बनाउन सकेका छैनौँ । करोडौँ लगानी गरी ठुलो योजना बनाउ भन्दा उपभोक्ता मान्दैनन् । बाध्य भएर टुक्रे योजनामा लगानी गर्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button