तपाईँ सुन्दै हुनुहुन्छः

सिँचाई आयोजना अलपत्र 

जाजरकोट  । जाजरकोटको नलगाड नगरपालिका ७, दल्ली स्थित चामाखेतमा ६४ लाख खर्च गरी निर्माण गरिएको सिँचाई आयोजना प्रयोगमा नआउन नसक्दा अलपत्र परेको छ ।

तत्कालीन जिल्ला विकास समितिको साना सिँचाई कार्यक्रमको ६४ लाख लगतमा चार वर्षअघि निर्माण भएको सिँचाइ आयोजना अलपत्र परेको हो ।

दल्लीदेखि चामाखेत बगर टोललगायत क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने गरी बनेको उक्त सिचाई आयोजना प्रयोगमा नै नआएर अलपत्र परेको छ  ।

स्थानीयले खेतीयोग्य जग्गा आकाशे पानीको भरमा लगाउने गरेका छन् ।

दल्ली, बगर टोल र चाँमाखेतको पाँच सय हेक्टर बढी स्थानीयको जग्गा बाँझै रहेको चाँमाखेतकी शारदा शाहले बताउनुभयो । सिँचाइको आसामा रहेका स्थानीय आयोजना अलपत्र परेपछि अहिले निराश भएका छन्, शाहले भन्नुभयो ।

सिचाईमा प्रयोग भएको पाइपहरू अहिले चोरी भएर हराइसकेका छन् । खरे खोलाको बाढीका कारण अधिकांश भाग पुरिएको छ । आयोजना मर्मतका लागि बजेट माग गरिए पनि बेवास्ता भएपछि खेतीपाती लगाउने सपना अधुरो भएको उहाँले गुनासो पोख्नुभयो ।

सिँचाइ सुविधा भए वर्षमा तीन बाली लगाउन सकिने भए पनि उक्त सुविधा भने उपयोग गर्न नै पाइएन! चाँमाखेतकै लक्ष्मी चन्दले भन्नुभयो । आयोजना मर्मत नहुँदा एक सय ३५ घरधुरीले सिँचाइ समस्या भोग्न बाध्य भएको चन्दको भनाइ छ ।

आफ्नो जग्गामा धान र तरकारी लगाउन पाइने भन्दै स्थानीयले श्रमदान गरेका थिए । ‘न हाम्रो श्रमदानको मूल्य उठ्यो, न सरकारी लगानीकै सदुपयोग, चन्दले गुनासो गर्नुभयो ।

सबैभन्दा ठुलो विकास सिँचाइ थियो, अलपत्र परेपछि आकासे पानीको भरमा बाली लगाउन बाध्य छौँ स्थानीय डिल्लीबहादुर गिरीले भन्नुभयो । सिँचाई असुविधाका कारण बर्षेनी उत्पादन घटिरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अर्जुनबहादुर सिंहले योजना पुनर्निर्माण गर्न धेरै रकम लाग्ने भएकाले समस्या भएको बताएको बुताउनुभयो । योजना मर्मत गर्न वडाको बजेटले नपुग्ने र अनेत्रबाट कुनै पहल हुन नसकेको वडा अध्यक्ष सिंहको भनाइ छ ।

डेढ किलोमिटर लम्बाइको सिँचाइको अधिकांश पाइप हराइसकेको छ । स्थानीयले वर्षौँदेखि सिँचाइ समस्या भोगिरहेका छन् । सिँचाइ असुविधाकै कारण स्थानीयले धान, मकै र गहुँ खेती मात्र गरिरहेका छन् ।

जिल्लाभरि सयौँ सिँचाइ आयोजना बजेट अभावकै कारण अलपत्र छन् भने निर्माण भएका आयोजना प्रयोगमा आउन सकिरहेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button