तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सम्भावित मतदानस्थलको अनुगमन शुरु

भद्रपुर, झापा । सरकारले संसद विघटन गरी २०७८ बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेसँगै जिल्लामा निर्वाचनलक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो ।

समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदानस्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताउनुभयो ।

समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेका छन् । विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकोमा यसपालि केही थप हुनसक्ने प्रजिअ तिम्सिनाको भनाइ छ ।

विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने बताइएको छ ।

मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीयसँग छलफल भइरहेको बताउँदै प्रजिअ तिम्सिनाले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button