तपाईँ सुन्दै हुनुहुन्छः

चुनावको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय

सल्यान । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । संसद् विघटनको पक्ष र विपक्षमा बहस तथा चर्चा परिचर्चा भइरहेका छन् ।
यही क्रममा जिल्ला निर्वाचन कार्यालय सल्यान भने चुनावको तयारीमा जुटेको छ । निर्वाचन हुने वा नहुने भन्ने विषयमा विवाद भइरहँदा सरकारले घोषणा गरेको वैशाख १७ र २७ को निर्वाचनको तयारीमा कार्यालय जुटेको छ । अहिले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए । माघ १५ गतेदेखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन अद्यावधिकको काम गरिने उनको भनाई छ ।
२०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर १ लाख ३४ हजार २ सय १३ मतदाता रहेकोमा गत पुस ६ गते सम्म जिल्लामा १ लाख ४१ हजार २ सय २० मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शाहले बताउनु भयो । यस्तै जिल्लाभर १ सय ८५ वटा मतदान केन्द्र र १ सय ११ वटा मतदान स्थल निर्धारण गरिएको उनको भनाई छ ।
मतदाता नामावलीमा नाम भएका मतदाताहरूको अद्यावधिक गर्ने काम जिल्ला स्तरमा र स्थानीय तहमा नै पुगेर गरिने उहाँको भनाई छ ‘सरकारले वैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी शुरु गरेका छौँ, नयाँ मतदाता नामावली सङ्कलन कार्य गत पुस ६ गते देखी नै स्थगित गरिसकेका छौँ, तर गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउँछन् ।’ उहाँले भन्नुभयो ।
मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउन, हालसम्म जिल्लामा सङ्कलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी वैशाखमा हुने निर्वाचनको लागी अद्यावधिक मतदाता नामावली तयार पर्ने उद्देश्यले मतदाता नामावली अद्यावधिकको काम शुरु गरिने शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button