तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड लागू

रुपन्देही । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिपरलाई टाइम कार्ड लागू गरेको छ ।
बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुङ्गा बोकेर निर्बाध सडकमा गुड्ने टिपरका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सोही कारण टिपरहरूलाई टाइम कार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । सडकमा सवारी साधनको अत्यन्त भिड रहने विद्यालय र कार्यालय समयमा बजार क्षेत्रमा समेत निर्बाध रुपमा टिपर चल्ने गरेका छन् ।
टाइम कार्ड लागू भएपछि टिपर चालकहरू तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् । पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागो कारखाना सम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाइम कार्ड लागू गरिएको छ ।
यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिपर चलाउन पाइनेछ । ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ । त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले जानकारी दिनुभयो ।
त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि टिपरलाई तोकिएको टाइम कार्डबाट दुर्घटना न्यूनीकरणमा प्रभावकारी भएकोले अब पनि टाइम कार्ड लागू गर्न लागिएको विकले जानकारी दिनुभयो ।
सडक दुर्घटना बढ्दै गर्दा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि राडार गनले सवारी साधनको गति मापन गर्ने र लेन अनुशासन पालना गर्ने समेतका कार्य गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button