तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा घटेनन् दुर्घटना

रुपन्देही । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरे पनि सवारी दुर्घटनाको सङ्ख्यामा भने कमी आउन सकेको छैन ।
कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनकै अवधिमा समेत लुम्बिनी प्रदेशमा दुर्घटनाको सङ्ख्या बढी देखिएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले दिएको तथ्याङ्कलाई हेर्दा साउनदेखि पुससम्म ९ सय १ सवारी साधन दुर्घटनामा परेका छन् । जबकि अघिल्लो वर्ष साउनदेखि पुससम्मको अवधिमा ७ सय ७३ सवारी साधन दुर्घटनामा परेका थिए । यस वर्ष कोरोना महामारीका कारण सवारीसाधनको सञ्चालन कम भएको भए पनि दुर्घटनाको सङ्ख्या भने बढेको पाइएको छ ।
अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा ५ सय ६६ दुर्घटना भएकोमा यस वर्ष भने ६ सय ३७ वटा दुर्घटना प्रहरीमा दर्ता भएका छन् । दुर्घटनाको सङ्ख्या र साधनको सङ्ख्या बढे पनि दुर्घटनामा मृत्यु हुने नागरिकको सङ्ख्या भने यस वर्ष ७ दशमलव २४ प्रतिशतले कमी भएको छ । अघिल्लो वर्षको ६ महिनामा प्रदेशमा २ सय ७६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए । यस वर्ष २ सय ५६ जनाको दुर्घटनामा परि ज्यान गएको छ ।
दुर्घटनामा परि यस वर्ष ९ सय २४ जना घाइते भएको प्रहरीले जनाएको छ । गत वर्ष यही अवधिमा भएका दुर्घटनाका घाइतेको सङ्ख्या ८ सय ८१ थियो । प्रदेशमा सवारी दुर्घटनाबाट ज्यान जाने घटनामा अधिकांश घटनाहरू टिपरसँगै जोडिएको प्रहरीले जनाएको छ ।
यसैबिच लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गुड्ने टिपरलाई टाइम कार्ड लागू गरेको हो । रुपन्देहीको बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुङ्गा बोकेर निर्बाध सडकमा गुड्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सोही कारण टिपरहरूलाई टाइम कार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button