तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्र चलायमान बनाउन सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाका कारण अतिप्रभावित मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याइसकेकोले त्यसको प्रभावकारी कार्यान्वनयमा जोड दिने बताउनुभयो ।

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढ्ने र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताउनुभयो ।

अर्थ मन्त्री पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल आवश्यक भएको बताउनुभयो ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेकोले कोरोनाको कारण सरकारलाई परेको अप्ठयारालाई निजी क्षेत्रले बुझिदिन आग्रह गर्नुभयो ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताउनुभयो ।

पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा २ वर्षको हुने उल्लेख भएकोमा ३ वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा ५ वर्षको व्यवस्था गर्न, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको भ्यालुमा नै शत प्रतिशतसम्म हुनेगरी ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।

छलफलमा पर्यटन व्यवसयीहरुले पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा २० करोडको सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button