तपाईँ सुन्दै हुनुहुन्छः

वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज हुने : वन मन्त्री आले 

बारा । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज हुने बताउनु भएको छ ।
बाराको निजगढमा निर्माण गरिन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनको क्रममा सिमरामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले वैज्ञानिक बनको नाममा जथाभाबी वनबाट काठ निकाल्ने काम भइरहेकाले यो पद्धति ठिक नभएको बताउँनुभयो ।
वैज्ञानिक वन व्यवस्थापन पद्धति खारेज गरेर चाँडै नै मापदण्ड बनाएर दिगो वन व्यवस्थापन पद्धति लागु गरिने जानकारी दिनुभयो । मन्त्री परिषद्को बैठकले वैज्ञानिक वनको नाममा काटिएको काठ बाहेक सम्पुर्ण काठका प्रक्रियाहरू खुल्ला गरेको जानकारी दिनुभयो ।
उहाँले चाडै नै वैज्ञानिक वन व्यवस्थापन नाममा काटिएको काठहरू छानबिन गरी निकास दिने बताउँनुभयो । वन तथा वातावरण मन्त्री आलेले दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनुभएको छ ।
अनुगमनका क्रममा टाँगिया बस्ती पुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल देशकै नमुना विमानस्थल बन्न गइरहेको बताउनुभयो ।
विमानस्थल निर्माण हुने टाँगिया बस्ती क्षेत्रमा नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाइने बताउनुभयो । मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने र नागरिकले प्रत्यक्ष रोजगारी र सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताउनुभयो ।  विमानस्थल निर्माण हुँदा टाँगिया बस्तीका करिब एक हजार ४७६ घरधुरी विस्थापित हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button