तपाईँ सुन्दै हुनुहुन्छः

आउँदो निर्वाचनका लागि भक्तपुरका मतदानस्थल परिवर्तन

भक्तपुर । मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदानस्थल सहज नभएको र अपुग रहेको निष्कर्ष निस्किएपछि आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन गरिने भएको छ ।

भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका एउटा मतदानस्थल परिवर्तन गरिने भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभयो । कार्यालयका अनुसार भक्तपुर नगरपालिका साविक वडा नं. ५ कार्यालय भोलाछें र साविक वडा नं. ९ चोछेंस्थित बालबोध शान्ति विद्यालयलाई परिवर्तन गरी ख्वपकलेज कायम गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र साँघुरो भएपछि भक्तपुर नगरपालिकाको साविक वडा नं. ५ र ९ लाई समायोजन गरी मतदातालाई पायक पर्ने गरी भक्तपुर नगरपालिका–६ देकोचास्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गरिने भएको उहाँले जानकारी दिनुभयो ।

यता भक्तपुर नगरपालिका–२ यालाछेंस्थित शारदा माविको मतदानस्थल साँघुरो भएपछि यसको सट्टा भनपा–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने निर्णय गरिएको बीसीले जानकारी दिनुभयो । त्यस्तै भनपा–५ भगवतीस्थानस्थित वरदायणी प्राविको भवन साँघुरो भएपछि सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलको रुपमा कायम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यता सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित महेन्द्र माविको मतदानस्थललाई परिवर्तन गरी सोही वडाको कटुञ्जे आधारभूत विद्यालयमा कायम गर्ने भएको छ । यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रलाई नयाँ मतदानस्थल कायम गरिने भएको छ । बोडे हेल्थ पोष्टको मतदानस्थल साँघुरो भएपछि त्यसलाई परिवर्तन गर्ने भएको हो । मध्यपुरथिमि नगरपालिका–३ को कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदानस्थल साँघुरो भएपछि कौशल्टार चोकस्थित आदर्श जनप्रेमी कलेजमा मतदानस्थल कायम गरिने भएको छ ।

जिल्लाका मतदानस्थल तथा मतदान केन्द्रका बारेमा चार वटै नगरपालिकाका जनप्रतिनिधिसँग भएको छलफलमा मतदानस्थल परिवर्तन गर्न निर्णय गरि निर्वाचन आयोगमा सिफारिश गरेको जानकारी दिँदै कार्यालयका सूचना अधिकारी बीसीले आयोगले सदर गरेसँगै आउँदो निर्वाचनमा परिवर्तन भएको मतदानस्थल प्रयोगमा आउने बताउनुभयो ।

रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button