तपाईँ सुन्दै हुनुहुन्छः

कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

सउल। कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको छ ।

इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्त राई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् । विगत चार वर्षदेखि कोरियामा श्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाका संयोजक पराजित पोमुले सुष्माका कविता बलिया र आञ्चलिक र आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे ।

त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुन आँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन् । ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो । यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन् । कार्यक्रममा उपस्थित कविहरूले आ–आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिस गरेका थिए ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button