तपाईँ सुन्दै हुनुहुन्छः

६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा भव्य रुपमा सम्पन्न

वीरगंज । दिगो आपूर्ति शृङ्खलाको लागि सशक्त भन्सार भन्ने नाराका साथ आज ६९ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयको संयुक्त आयोजनामा वीरगंज भन्सार परिसर आइसिपी सिर्सियामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतका वक्ताहरूले वीरगंज भन्सार विगतको तुलनामा पारदर्शी र डिजिटल रुपमा अगाडी बढेकोमा सराहना गर्दै आगामी दिन अझ परिष्कृत हुँदै भन्सारलाई राजस्व असुलीको माध्यम मात्र नबनाई सेवामुखी कार्यालयको रुपमा समेत अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

वक्ताहरूले आइसिपी भन्सार आसपासको एरियामा अझै सडक निर्माण कार्य सम्पन्न नहुँदा सेवाग्राही धुलो धुवाबाट प्रभावित भएको हुँदा यसको समाधान तत्काल हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले वीरगंज भन्सारलाई प्रविधिको उच्चतम प्रयोग गरी पारदर्शी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ड्राईपोर्ट भन्सार कार्यालयका प्रमुख डा.लालबहादुर खत्री, बारा, पर्साका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । सो अवसरमा वीरगंज भन्सार द्वारा आयोजित व्याडमिन्टिङ्ग प्रतियोगितामा प्रथम हुने नेपाल प्रहरी, द्वितीय हुने वीरगंज भन्सार टिम र तृतीय हुने राजस्व अनुसन्धान पथलैयाको टिमलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button