तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

तनहुँ । तनहुँमा पनि बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

बुधबार स्वास्थ्य कार्यालयमा जिल्लाको पहिलो खोप जिल्ला स्वास्थ्य कार्यालय तनहुँका विरेन्द्र कुमार चौधरीले लगाउनु भएको थियो ।

सो अवसरमा खोप सुरक्षित रहको र सबैलाई लगाउन चौधरीले आग्रह गर्नुभएको थियो । ’खोप लगाउने १० मिनेट अघि सम्म पनि त्रास कै अवस्था रहेको थियो ।’ चौधरीले भने ’मनमा त मलाई पनि फिल भएको थियो केहि हुन्छ कि भनेर तर जब खोप लगाईसकेपछि चाहिं केहि भएको छैन ।’ उहाँले अगाडी भन्नुभयो ’दुखेको पनि छैन, सामान्य छु त्यसैले पहिलो प्राथमिकतामा पर्नुभएको सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गर्छु ।’ उहाँले भन्नुभयो ’सबैले खोप लगाउनु र एक महिना अर्को डोज नलगाएसम्म सुरक्षित भएर बस्नुपर्छ ।’

तनहुँ जिल्ला भर कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’खोप लगाईसकेपछि स्वास्थ्यकर्मीको रोहबरमा आधा घण्टा राखेर सुरक्षित अवस्थामा मात्रै पठाउछौ ।’

तनहुँमा बुधबारदेखि आगामी १९ गते सोमबार सम्म खोप अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई पहिलोचरणमा खोप दिइने प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ’जिल्लाको दमौली स्थित ३ वटा बुथ बनाएका छौं र १५ जना स्वास्थ्यकर्मीले खोप दिनेछन् ।’

’निजि क्षेत्रका स्वास्थ्यकर्मीलाई समेत खोप दिने कार्यक्रम रहेको छ ।’ प्रमुख अधिकारीले भन्नुभयो ’जिल्लामा खोप लगाउन १६७९ जनाले खोप लगाउन नाम दर्ता गराएका छन् ।’ उहाँले अगाडि भन्नुभयो ’छुटेका स्वास्थ्यकर्मीको नाम केहि अझै थपिन्छ ।’

व्यास नगरपालिकामा ५५८ जना, म्याग्दे गाउँपालिकामा ८२ जना, रिसिङ गाउँपालिकामा ९८ जना, शुक्लागण्डकी नगरपालिकामा २६७ जना, भिमाद नगरपालिकामा १७७ जना, घिरिङ गाउँपालिकामा ६१ जना, भानु नगरपालिकामा १७१ जना, आँबुखैरेनी गाउँपालिकामा ७३ जना, बन्दिपुर गाउँपालिकामा १०५ जना र देवघाट गाउँपालिकामा ८७ जना लक्षित समुह रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख छ ।

१४ गते बुधबार र बिहिबार १५ गते जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र रिसिङ गाउँपालिकाका स्वास्थ्यकर्मीले खोप लगाउने छन् । त्यस्तै १६ र १७ गते भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका त्यसैगरी १८ र १९ गते घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई र भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप मंगलबार आइपुगेको हो । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप मध्ये १७१ भायल खोप आएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार एक भायलबाट १० जनालाई खोप लगाउन सकिन्छ ।

कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button