तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको उपचारका लागि इजरायली वैज्ञानिकले पत्ता लगाए नयाँ विधि

काठमाडौं । इजरायली वैज्ञानिकहरूले कोरोनाको उपचारका लागि नयाँ विधि तयार पारेका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमणको उपचार र रोकथाममा विभिन्न प्रयासहरू भइरहँदा इजरायली वैज्ञानिकहरूले कोभिड–१९ को गम्भीर अवस्थालाई समेत उपचार गर्ने गरी नयाँ उपचार विधि प्रयोगमा ल्याएका हुन् ।

वैज्ञानिकहरूले उक्त विधिलाई ‘इक्सओ–सीडी २४’ नाम दिएका छन् ।

इजरायली शहर तेल अबिब स्थित सौरस्की (इचिलोभ) मेडिकल सेन्टरका क्यान्सर रोकथाम केन्द्रका निर्देशक प्रा. डा. नादिर आर्बरका अनुसार “साइटोकाइन स्ट्रोमले कोभिड–१९ का बिरामीहरूमा गम्भीर प्रकारको लक्षण निम्त्याउँछ । इक्सओ-सीडी २४ विधिबाट उपचार गर्दा यस्तो समस्यालाई निदान गर्न सहज हुने गर्दछ ।”

यो विधिबाट एक्सोजोम्स तत्त्वलाई नाकबाट स्प्रे मार्फत फोक्सोसम्म औषधीका रुपमा पुर्‍याउने काम गरिन्छ ।

एक भिडियो कन्फरेन्स मार्फत विश्वभरका पत्रकारहरूलाई सम्बोधन गर्दै प्रा.डा.नादिरले इक्सओ-सीडी २४ विधिबाट हुने उपचार सस्तो, प्रभावकारी र कम जोखिमपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार यसको औषधी उत्पादन गर्न समेत सजिलो र कम खर्चिलो छ ।

कोभिड–१९को संक्रमणका कारण हुने मुख्य जटिलता भनेकै श्वासप्रश्वासको जटिल समस्या ‘एआरडीएस’ हो । जुन फोक्सोमा हुने इन्फ्लेमेसन ( फोक्सो सुनिने) कारण हुने गर्दछ । इक्सओ–सीडी २४ विधिबाट हुने उपचारले इन्फ्लेमेसनलाई मन्धपार्न र साइटोकाइन स्ट्रोम निको पार्न प्रभावकारी देखिएको प्रा.डा.नादिरले बताउनु भयो ।

पहिलो चरणमा ३५ गम्भीर बिरामीहरूलाई उक्त उपचार विधि प्रयोग गरिएको र ती बिरामीहरु एक हप्ता भन्दा पनि कम समयमा निको भएका प्रा.डा.नादिरले जानकारी दिनु भयो ।

विकासोन्मुख देशहरूलाई कोरोना भाइरसका बिरामीहरूलाई उपचार गर्न महँगो र कठिन भइरहेको वर्तमान समयमा इक्सओ–सीडी २४ विधिबाट हुने उपचार सस्तो र प्रभावकारी हुने देखिएको प्रा.डा.नादिरको दाबी छ ।

नादिरले उक्त उपचार विधिबाट इबोला र इन्फ्लूयन्जा जस्ता रोगहरूको पनि उपचार गर्न सकिने बताउनु भयो ।

ब्राजिल लगायत धेरै मुलुकहरूले उक्त उपचार विधिका लागि इजरायललाई अनुरोध गरी सकेता पनि इजरायली वैज्ञानिकहरूले भने नतिजाको थप अध्ययन गर्न र भविष्यमा यो विधिको प्रयोग सुरक्षित छ भनेर प्रमाणित गराउन थप केही समय लाग्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button