तपाईँ सुन्दै हुनुहुन्छः

शिरमा देश र मनमा मधेस राखेर काम गर्नेछु : प्रदेश प्रमुख झा 

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झाले आज पदभार ग्रहण गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि पत्रकारहरूलाई संवोधन गर्नुहुँदै प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेसलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखी कामकाज गर्ने बताउनुभयो ।

उहाँले प्रदेश नंं २ का हरेक नागरिकलाई साझा, शान्त र समृद्ध सहित समाज निर्माणमा आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्व सहितको प्रदेश निर्माणमा अग्रसर रहने बताउनुभयो ।

प्रदेश प्रमुख झाले देशसहित अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

उहाँले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम राख्दै प्रदेशलाई उदाहरणीय बनाउनका लागि प्रयास गर्ने बताउनुभयो ।

यस अघि जनकपुर विमानस्थलमा आइपुग्दा प्रदेश सरकारका तर्फबाट प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुसवाहाले स्वागत गर्नु भएको थियो । उक्त अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारीहरूले प्रदेश प्रमुखलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नागरिक समाजको तर्फबाट जनकपुरधामका युवाहरूले १ सय १ किलोको माला लगाएर प्रदेश प्रमुखलाई स्वागत गर्नु भएको थियो । उहाँ जनकपुरधाम आएपछि जनकपुरधामको जानकी मन्दिरको माटो टाउकोमा लगाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button